पोखरा : आध्यात्मिक गुरु विजय कृष्णमूर्तिले पोखरामा आयोजना हुन लागेको ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ लाई पूर्ण सफल बनाउन आफू र आफ्नो टोली पूर्ण रूपले समर्पित रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले महायज्ञ निर्धारित मिति र स्थानमै सम्पन्न गरिने दाबी गरे। “जस्तोसुकै चुनौती आए पनि धर्म र समाज कल्याणका लागि समर्पित हाम्रो अभियान रोकिँदैन,” उनले दृढताका साथ भने।
पर्यावरण संरक्षणको प्रतिबद्धता
गुरु कृष्णमूर्तिले महायज्ञ स्थल व्यवस्थापनका क्रममा यदि कुनै कमजोरी भएका छन् भने ती सुधार गर्दै जाने आश्वासन दिए। उनले वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित वृक्षरोपण अभियान समेत सञ्चालन गर्ने घोषणा गरे।
“हामीले जुनसुकै काम गरे पनि वातावरण संरक्षणलाई सर्वोच्च प्राथमिकता दिनेछौँ,” उनले भने। साथै, महायज्ञ स्थल अत्याधुनिक प्रविधियुक्त हलमा सञ्चालन हुने भएकाले ध्वनि प्रदूषणको कुनै समस्या नहुने उनले स्पष्ट पारे।

पोखराको धार्मिक पर्यटन प्रवर्द्धन
महायज्ञको महत्वबारे चर्चा गर्दै उनले लेकसाइड क्षेत्रमा २५ हजारभन्दा बढी भक्तजनहरू आउने र यसले पोखराको धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो योगदान दिने विश्वास व्यक्त गरे।
रचनात्मक आलोचनालाई स्वागत
गुरु कृष्णमूर्तिले विभिन्न समाचारमाध्यममा आएका रिपोर्टहरूप्रति आफ्नो सम्मान रहेको बताए। “रचनात्मक आलोचना विकासको लागि आवश्यक हुन्छ, त्यसैले हामी सकारात्मक सुझावहरू ग्रहण गर्न तयार छौँ,” उनले थपे।
यस महायज्ञले धर्म, संस्कृति, पर्यटन, र समाजसेवालाई एकसाथ अघि बढाउने लक्ष्य राखेको छ, जसले पोखरालाई धार्मिक तथा आध्यात्मिक गन्तव्यका रूपमा उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।