सुचना, समाचार र मनोरन्जन

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउँदै, स्वागतका लागि तयारी पूरा

 

 

कास्की :  पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदै छन्। करिब दुई साताका लागि शाहसहित पूर्वरानी कोमल शाह र परिवारका केही सदस्यहरू पोखरा बसाइँ गर्ने तयारीमा छन्।

पूर्वराजाको स्वागतका लागि नागरिक स्वागत मूल समारोह समिति तथा पश्चिमाञ्चलवासी नेपाली जनता विशेष रूपमा जुटिरहेका छन्। कार्यक्रम संयोजक प्राडा जगमान गुरुङ रहेका छन् भने स्वागत व्यवस्थापनको जिम्मेवारी राप्रपाका केन्द्रीय सदस्य तथा नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक अरुण गिरीले लिएका छन्।

गिरीका अनुसार पूर्वराजा शाहको सम्मानमा साविक पश्चिमाञ्चलका सबै जिल्लाबाट नागरिक सहभागिता हुनेछन्। “हामी राष्ट्रिय झण्डा र फूलमालासहित शाहको भव्य स्वागत गर्नेछौँ,” उनले भने।

गिरीले नेपालमा राजसंस्था पुनःस्थापना र वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल पुनःस्थापनाका लागि शाहको आगमन महत्त्वपूर्ण रहेको बताए। “देश रहनुपर्छ, राष्ट्र रहनुपर्छ। राष्ट्र, राजा र धर्मले मात्र हाम्रो अस्तित्व जोगाउँछ,” उनले भने।

हालको व्यवस्थाले युवामा नैराश्यता सिर्जना गरेको बताउँदै गिरीले देशको पहिचान र भविष्यको सुनिश्चितताका लागि राजसंस्था अपरिहार्य रहेको तर्क गरे। “राजा भनेको राष्ट्रिय एकताको प्रतीक हो। नेपालका जनता गौरव गर्ने व्यवस्था भनेकै राजसंस्था हो,” उनले जोड दिए।

गिरीको नेतृत्वमा पोखरामा पूर्वराजाको स्वागत भव्य रूपमा हुने निश्चित भइसकेको छ। अबको समय राष्ट्रिय पहिचान, धर्म, संस्कृति र इतिहासको संरक्षण गर्दै राजसंस्थालाई बलियो बनाउन समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.