सुचना, समाचार र मनोरन्जन

सुर्खेतमा ४ चैतबाट तेस्रो कर्णाली चलचित्र कार्यशाला हुने

काठमाडौ :

तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ। केवी इन्टरटेनमेन्ट प्रा.लि.ले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो।

गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म दोश्रो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो। पहिलो र दोस्रो कार्यशालामा चलचित्र सम्बन्धी बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विधार्थीहरुलाई यस पटक चलचित्रबारे एडभान्स कोर्सको प्रशिक्षण लिने छन्। आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काका अनुसार यस पटकको कार्यशाला प्रयोगात्मक विशेष हुनेछ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । संस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनकै लागि हामीले तीन वर्षबाट नियमित रुपमा कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ,’ अध्यक्ष खड्काले भने ।

यो कार्यशालामा यस पटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ। चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिने छिन भने छायांकार निरज कँडेलले छायांकन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने छन्।

यस्तै फिल्म सम्पादक रुपेश मिजारले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धी कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विद्यार्थीहरूले तीन वटा वृत्तचित्र र दुई वटा लघु चलचित्र निर्माण गर्ने छन्। कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहने छ ।

Leave A Reply

Your email address will not be published.