सुचना, समाचार र मनोरन्जन

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

 

काठमाडौं : पछिल्लो एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् ।

ती आगलागीका घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घटना भएका थिए ।

मधेस प्रदेशमा १०५, बागमती प्रदेशमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए । वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् ।

 

अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.