सुचना, समाचार र मनोरन्जन

पोखरामा ४२ महिला कलाकारका सिर्जना एउटै मञ्चमा, ‘स्वरा’ कला प्रदर्शनी हुँदै

पोखरा,

पोखरामा महिला कलाकारका कला सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गरिने भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मंसिर १९ देखि २५ गतेसम्म ‘स्वरा’ नामक सामूहिक कला प्रदर्शनी हुन लागेको हो ।

पोखरा आर्ट ग्यालरीमा आयोजना हुने प्रदर्शनीमा चित्रकलातर्फ ३५ र फोटोग्राफीतर्फ सात गरी ४२ जना महिला कलाकारका सिर्जना राखिने प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन् ।

Pach Pandav

ललितकला र फोटोग्राफीको क्षेत्रमा महिला कलाकारको उपस्थिति तथा योगदानलाई उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताइन् । पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका थुप्रै पुरुष कलाकार जन्माए पनि महिला कलाकारको पहिचान र उपस्थिति अपेक्षाकृत कमजोर देखिएको उनको भनाइ छ ।

वाङ्मयका अन्य क्षेत्रमा महिलाको सहभागिता सन्तोषजनक देखिए पनि ललितकलाको क्षेत्रमा महिला कलाकारको उपस्थिति खोज्नुपर्ने अवस्था रहेको कुलपति प्रतीक्षाले बताइन् । यही अवस्थालाई चिर्दै कला क्षेत्रमा रहर, रुचि र व्यावसायिक रूपमा सक्रिय महिला कलाकारलाई एउटै ग्यालरीमा उभ्याउने प्रयासस्वरूप प्रदर्शनी आयोजना गर्न लागिएको उनले स्पष्ट पारिन् ।

यसअघि पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सांगीतिक पहिचान संरक्षण गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सम्मरबहादुर गायक, कृष्णबहादुर गन्धर्व, हेमन्त कान्छा रसाइलीलगायत ८९ जना कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतिष्ठानले हालै पोखराको साहित्यिक सिर्जना र लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘लेख्छ पोखरा’ अभियानसमेत सुरु गरेको छ । ‘स्वरा’ प्रदर्शनीलाई पनि पोखराको कला क्षेत्रमा महिला सिर्जनशीलता र प्रतिभाको पहिचान स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.