काठमाडौं :
जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी–प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको नेपाली कथानक फिल्म ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ। आगामी मंसिर १ गतेदेखि लमजुङमा छायांकन गर्ने तयारी गरिएको फिल्मको निर्माण कार्य निर्धारित योजनाअनुसार सुरु भएको हो। फिल्म निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन्।

साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको फिल्मले जातीय विभेदका कारण प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ। वर्तमान सामाजिक परिस्थितिलाई यथार्थपरक ढंगले पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण भइरहेको निर्माता शेखर लामाले बताए।
जातकै कारण प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता लामाको भनाइ छ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ। फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन्। फिल्ममा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ। शेखर लामा निर्माता रहेको फिल्मको निर्देशन नवराज श्रेष्ठले गरिरहेका छन्।