सुचना, समाचार र मनोरन्जन

दिल्लीको न्यानो अङ्कमाल: उपलब्धिलाई नतिजामा बदल्ने परीक्षा

सुरेश रानाभाट/प्रधान सम्पादक

जेनजी आन्दोलनको ऐतिहासिक उभार र आमनिर्वाचनबाट प्राप्त झन्डै दुईतिहाइ नजिकको शक्तिशाली जनादेशपछि प्रधानमन्त्री वालेन्द्र शाह बालेनको दुईदिने (करिब पच्चिस घण्टाको) औपचारिक भारत भ्रमणले दुई छिमेकीबीचको सम्बन्धमा लामो समयदेखि जमेको तुष पगाल्दै संवाद र सहकार्यको नयाँ अध्याय आरम्भ गरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता जनाएपछि पहिलो द्विपक्षीय विदेश भ्रमणका रूपमा नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहलाई भारतीय राष्ट्रपति भवनमा दिइएको राजकीय सम्मान, गार्ड अफ अनर तथा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको कसिलो अङ्कमाल र एकान्त वार्ताले द्विपक्षीय सम्बन्धमा न्यानोपन फर्किएको सङ्केत दिएको छ। सन् २०१८ यता अवरुद्धप्रायः रहेको संयुक्त वक्तव्य जारी गर्ने परम्पराले यसपटक निरन्तरता पाउनु, २४ बुँदे संयुक्त वक्तव्यसँगै विकसित भारत र समुन्नत नेपाल साझेदारीको पुनर्कल्पना शीर्षकको १० स्तम्भयुक्त संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन डक्युमेन्ट) सार्वजनिक हुनु तथा आठवटा समझदारीपत्रमा हस्ताक्षर हुनु कूटनीतिक दृष्टिले उत्साहजनक सुरुवात हो। तर, आधुनिक कूटनीतिमा भ्रमणको सफलता अङ्कमालको न्यानोपन वा हस्ताक्षरित कागजातको सङ्ख्याले मात्र मापन हुँदैन; त्यसले आमनागरिकको दैनिकी, अर्थतन्त्रको रूपान्तरण र राष्ट्रका थाँती रहेका संवेदनशील मुद्दाहरूमा कति गुणात्मक परिवर्तन ल्यायो भन्ने कसीमा मूल्याङ्कन गरिन्छ।

कूटनीतिक सफलता अङ्कमालको न्यानोपन र समझदारीपत्रको सङ्ख्यामा होइन, बरु ती प्रतिबद्धताले नागरिकको जीवनस्तर, व्यापार सन्तुलन र राष्ट्रिय स्वाभिमानमा ल्याउने ठोस परिणाममा मापन हुन्छ।

विकास साझेदारी, ऊर्जा र कनेक्टिभिटीका ठोस उपलब्धि

प्रधानमन्त्री शाहको दिल्ली यात्राको सबैभन्दा सबल पक्ष विकास साझेदारी, सीमापार कनेक्टिभिटी र ऊर्जा सहकार्यमा हासिल भएका मूर्त उपलब्धिहरू हुन्। गत भदौको विनाशकारी भोटेकोशी त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन पूर्वाधार विकासका लागि भारतले २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (१ खर्ब ५० अर्ब भारतीय रुपैयाँ) बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदानका रूपमा प्राप्त हुनेछ भने बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ स्थिर विनिमय दरयुक्त भारतीय रुपैयाँमा लाइन अफ क्रेडिट मार्फत पूर्ण रूपमा ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिने सहमति भएको छ। राष्ट्रिय योजना आयोगले बाढीपछिको पुनर्निर्माणका लागि सात खर्ब रुपैयाँभन्दा बढी लाग्ने आकलन गरिरहेका बेला मित्रराष्ट्रबाट प्राप्त यो उदार सहयोग निश्चय नै राहतपूर्ण छ।

यसैगरी, भौतिक पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारमा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा गर्नुभएका उद्घाटन र शिलान्यासहरूले भविष्यको आर्थिक एकीकरणको खाका कोरेका छन्। सांस्कृतिक र धार्मिक पर्यटनलाई जोड्ने सरयू कमला एक्सप्रेस अर्थात् अयोध्या जनकपुर रेल सेवाको शुभारम्भ तथा सुदूरपश्चिमको व्यापार र जनस्तरको आवागमनलाई सहज बनाउने दार्चुला धार्चुला सीमापार पक्की पुलको उद्घाटनले जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाएको छ। मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको हस्तान्तरणसँगै सिलिगुडी झापा पेट्रोलियम पाइपलाइन, कञ्चनपुरको बनबासास्थित एकीकृत जाँच चौकी (आईसीपी) र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास हुनु ऊर्जा सुरक्षा र व्यापार सहजीकरणका दृष्टिले दूरगामी महत्त्वका कदम हुन्। रक्सौल काठमाडौँ रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) सम्पन्न भई पूर्व पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने प्रतिबद्धता आउनुले रेल सञ्जालको सम्भावनालाई जीवित राखेको छ।

पारवहन र हवाई मार्गका क्षेत्रमा पनि नेपालले केही महत्त्वपूर्ण पाइला अगाडि बढाएको छ। तेस्रो मुलुकसँगको व्यापार विस्तारका लागि गुजरातको कान्डला (दीनदयाल) र उडिसाको पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराउने सहमतिले नेपालको भूपरिवेष्ठित बाध्यतालाई केही हदसम्म खुकुलो बनाउनेछ। लामो समयदेखि नेपालले उठाउँदै आएको काठमाडौँ भैरहवा लखनउ हवाई मार्गलाई दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन प्राविधिक परामर्श थाल्ने सैद्धान्तिक सहमति हुनु सकारात्मक छ। युवा पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना गर्ने, काठमाडौँ र पोखरामा स्टार्टअप तथा इनोभेसन हब निर्माण गर्ने र क्रिकेट पूर्वाधार तथा प्रशिक्षणमा सघाउने भारतीय प्रतिबद्धताले द्विपक्षीय सहकार्यलाई नवीन आयाम दिएको छ।विगतमा सम्झौता हुने तर कार्यान्वयन नहुने रोग निवारण गर्न नेपालका परराष्ट्र सचिव र काठमाडौँस्थित भारतीय राजदूत सहअध्यक्ष रहने उच्चस्तरीय अनुगमन संयन्त्रको बैठक प्रत्येक छ महिनामा बस्ने सहमति गरिनु सराहनीय छ।

Pach Pandav

पुरानो बोझ नबोक्ने नाममा कालापानी लिपुलेकको सीमा विवाद, ईपीजी प्रतिवेदन र गैरभन्सार अवरोधजस्ता संवेदनशील राष्ट्रिय सरोकारलाई पन्छाएर दिगो विश्वास निर्माण हुन सक्दैन।

 थाँती रहेका संवेदनशील मुद्दा र आर्थिक असमानताको प्रश्न

उपलब्धिहरूको यो सूची जति आकर्षक देखिन्छ, भ्रमणले छोएका र नछोएका संवेदनशील मुद्दाहरूको गहिराइमा पस्दा त्यत्तिकै गम्भीर प्रश्नहरू पनि उब्जिन्छन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि कर्मकाण्डी भ्रमण नगर्ने र थाँती रहेका मूल मुद्दाहरूमा नतिजामुखी संवाद गर्ने अपेक्षा जगाउनुभएका प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादमा ठोस कूटनीतिक ब्रेकथ्रू निकाल्न सकेनन्। संयुक्त वक्तव्यको १५औँ बुँदामा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सीमा समस्या समाधान गर्न निर्देशन दिइए पनि भारतीय विदेशसचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमै लिपुलेकबारे छलफल नभएको र त्यसलाई भारत चीन व्यापारिक नाकाका रूपमा व्याख्या गर्नुले नेपालको संवेदनशीलतामाथि दिल्लीको पुरानै अडान कायम रहेको प्रस्ट पार्छ।

त्यस्तै, नेपाल भारत सम्बन्धका असमानता र सन् १९५० को सन्धि पुनरावलोकनका लागि दुवै देशका विज्ञहरूले सन् २०१८ मै तयार पारेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई भारतीय पक्षले अप्रासङ्गिक र विगतको विषय भन्दै सार्वजनिक रूपमै अस्वीकार गर्नु नेपालका लागि सुखद सन्देश होइन। परराष्ट्रमन्त्री शिशिर खनालले ईपीजी प्रतिवेदनका अन्तर्वस्तु नयाँ ज्वाइन्ट भिजन भित्र समाहित रहेको दाबी गरे पनि आधिकारिक रूपमा प्रतिवेदन नबुझी इतिहासको पानामा मिल्काउने प्रवृत्तिले दुई देशबीचको अविश्वासको जरो उखेल्न सक्दैन। दशकौँदेखि अल्झिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिने उही पुरानै कर्मकाण्डी भाषा दोहोरिनु र काठमाडौँ महेन्द्रनगर दिल्ली हवाई रुटबारे ठोस सहमति नजु्ट्नुले बलियो सरकारप्रतिको जनअपेक्षालाई पूर्ण न्याय गर्न सकेन।

आर्थिक कूटनीतिको पाटोबाट हेर्दा, भारतसँगको कहालीलाग्दो व्यापार घाटा न्यूनीकरण गर्न नेपाली कृषि तथा औद्योगिक उत्पादनले भारतीय बजारमा भोग्दै आएको गैरभन्सार अवरोध (नन ट्यारिफ ब्यारियर) हटाउने विषयमा ठोस सम्झौता हुन सकेन। प्राध्यापक महेन्द्र पी लामाले औँल्याएझैँ, नेपाल भारत सम्बन्धलाई एकतर्फी सहायता निर्भरताबाट निकालेर पारस्परिक आर्थिक अन्तरनिर्भरतामा रूपान्तरण गर्न निजी क्षेत्रको भारतीय लगानी भित्र्याउनु अपरिहार्य छ। तर, प्रधानमन्त्री शाहले औपचारिक सम्बोधनमा भारतीय लगानीकर्तालाई स्वागत गर्ने सामान्य वाक्य उच्चारण गरे पनि ठोस लगानी सम्मेलन वा नीतिगत सुनिश्चिततामार्फत निजी पुँजी आकर्षित गर्ने सशक्त पहल देखिएन।

विदेश भ्रमणअघि आन्तरिक राजनीतिक सहमति र संवैधानिक शिष्टाचारको उपेक्षा गर्नु कूटनीतिक अपरिपक्वता हो; परराष्ट्र नीति व्यक्तिविशेषको करिश्मामा होइन, संस्थागत पद्धतिमा चल्नुपर्छ।

आन्तरिक कूटनीतिक शिष्टाचार र कार्यान्वयनको मार्गचित्र

कूटनीति केवल विदेशी समकक्षीसँगको आत्मीयता मात्र होइन, स्वदेशभित्रको संस्थागत परिपक्वता र राष्ट्रिय सहमति पनि हो। यस कोणबाट हेर्दा प्रधानमन्त्री शाहको दिल्ली यात्रापूर्व आन्तरिक तयारी र कूटनीतिक शिष्टाचारमा स्पष्ट कमजोरी देखियो। परराष्ट्र नीतिजस्तो संवेदनशील विषयमा संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दल, पूर्वप्रधानमन्त्रीहरू र परराष्ट्रविद्हरूसँग परामर्श गर्ने तथा भ्रमणमा निस्कनुअघि राष्ट्रप्रमुख (राष्ट्रपति) लाई औपचारिक जानकारी गराउने स्थापित लोकतान्त्रिक परम्पराको उपेक्षा गरिनु शोभनीय होइन। देशभित्र राष्ट्रिय सहमति र संस्थागत अपनत्वबिना विदेशमा गरिएका जस्तोसुकै ठूला सम्झौता पनि कालान्तरमा विवाद र अस्थिरताको सिकार बन्ने जोखिम रहन्छ।

अब सरकारका सामु दुइटा मुख्य दायित्व छन् पारदर्शिता र समयबद्ध कार्यान्वयन। सर्वप्रथम, प्रधानमन्त्री शाहले स्वदेश फर्किएलगत्तै राष्ट्रपतिसमक्ष भ्रमणको ब्रिफिङ गर्ने र सार्वभौम संसद्मा आठवटा समझदारीपत्र तथा संयुक्त दृष्टिकोणपत्रको पूर्णपाठ पेस गरी राष्ट्रिय बहस र अपनत्व सुनिश्चित गर्नुपर्छ। दोस्रो, विगतमा सन् २०१५ को भूकम्पपछि भारतले घोषणा गरेको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) कडा सर्त र हाम्रै कर्मचारीतन्त्रको लालफिताशाहीका कारण खर्च हुन नसकेको तीतो यथार्थबाट पाठ सिक्नुपर्छ। यसपटक घोषित २ खर्ब ४० अर्ब रुपैयाँको प्याकेज कुन कुन आयोजनामा, कस्ता सर्तमा र कुन समयसीमाभित्र परिचालन हुन्छ भन्ने स्पष्ट कार्ययोजना तत्काल सार्वजनिक गरिनुपर्छ। भैरहवा लखनउ दुईतर्फी हवाई मार्ग, पञ्चेश्वरको डीपीआर र गैरभन्सार अवरोध हटाउन छुट्टाछुट्टै प्राविधिक वार्ता टोली गठन गरी सार्वजनिक डेडलाइन तोक्नु आवश्यक छ।

नयाँ दिल्लीमा दुई प्रधानमन्त्रीबीच देखिएको कसिलो अङ्कमालले दुई देशबीचको संवादहीनता तोड्दै विश्वासको एउटा बलियो पुल निर्माण गरेको छ। भारतका प्रधानमन्त्री मोदीले नयाँ पुस्ताको नेपाली नेतृत्वप्रति देखाउनुभएको सद्भाव र सहकार्यको तत्परतालाई नेपालले आफ्नो राष्ट्रिय हित, आर्थिक समृद्धि र स्वाभिमानको रक्षामा रूपान्तरण गर्न सक्नुपर्छ। घोषणा गरिएका रेलमार्ग, पेट्रोलियम पाइपलाइन, जलविद्युत् आयोजना र हवाई रुटहरू कागजको पानाबाट निस्किएर जब नेपाली किसानको खेत, उद्यमीको कारखाना र युवाको रोजगारीसँग जोडिनेछन्, अनि सीमाका पीडाहरू समानता र सम्मानका आधारमा सम्बोधन हुनेछन् त्यही दिन मात्र दिल्लीको यो न्यानो अङ्कमालले इतिहासमा साँचो सार्थकता पाउनेछ।

Leave A Reply

Your email address will not be published.