सुचना, समाचार र मनोरन्जन

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालन हुने

 

पोखरा : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा. बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्णबाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् ।

नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा यसको प्रभावबारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

कार्यक्रममा डा.बलराम दुवालले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको विश्वव्यापी अवसरहरूको ढोका खोल्नु हो । नेपालका विद्यार्थी तथा व्यावसायीका लागि महत्वपूर्ण लगानी हो, जसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूलाई थप उजागर गर्नेछ ।’

कन्फ्युसियस इन्स्टिच्युटका चीन पक्षका निर्देशक प्रा.डा.झाङ सिङनियानले जनप्रियलाई सहकार्यका निम्ति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पारे । उनले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको नेपाल–चीन पर्यटन तथा व्यवसायीक सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।’

क्याम्पस सञ्चालक समिति अध्यक्ष बीरेन्द्रनारायण बिजुक्छेले, नेपाल–चीनबीच सातौँ शताब्दीबाट कायम ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै भने, ‘सम्झौता केवल शैक्षिक सहकार्य मात्र नभई दुई संस्थाबीचको ज्ञान, संस्कृति र व्यावसायिक अवसरहरूको आदानप्रदानको एउटा महत्वपूर्ण माध्यम हो ।’

क्याम्पस प्रमुख कृष्णबाबु बरालले समझदारीपत्र अनुरूप विएमटिएम कार्यक्रमका सातौँआठौंँ सेमेस्टरका विद्यार्थीहरूका लागि चिनियाँ भाषा कक्षा तत्काल सञ्चालन गरिने जानकारी गराए । उनले भविष्यमा अन्य सङ्कायहरूमा समेत चिनियाँ भाषा कक्षा विस्तार गर्ने योजना रहेको बताउँदै विद्यार्थीहरूका लागि रोजगारीका थप अवसरहरू सिर्जना गर्ने जनाए ।

चिनियाँ भाषा प्रशिक्षक याओ फाङले पाठ्यक्रम संरचना तथा सिकाइ गतिविधिबारे जानकारी दिँदै भनिन्, ‘चिनियाँ भाषा सिक्ने यात्रामा हामी सबै मिलेर अगाडि बढ्नेछौं । यो अवसरलाई सदुपयोग गरी उत्कृष्ट प्रगति गर्नुपर्छ । ’ कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले वर्तमान विश्व परिप्रेक्ष्यमा चिनियाँ भाषाको महत्वबारे चर्चा गरिन् ।

Leave A Reply

Your email address will not be published.