सुचना, समाचार र मनोरन्जन

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

 

काठमाडौं : नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्।

 

जसकारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ। यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ।

 

होटल सङ्घ नेपाल हानका अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ। “मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ।

 

केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।”

 

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन्।

 

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौँडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन्।

 

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन्।

 

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्। सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन्।

 

सङ्घीय राजधानी काठमाडौं उपत्यका मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ। उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ। दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए।

 

व्यवसायी उत्साहित

 

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ। तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन्। नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन  विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए।

 

“नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ। विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्”, उनले भने। उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन्। पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ। पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान, पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ।

 

पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएशन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन्। नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उनले बताए।

Leave A Reply

Your email address will not be published.