काठमाडौं :
नेपालमा पछिल्लो समय राष्ट्रभावका गीत कमै बजारमा आएको पाइन्छ। हरेक कलाकार व्यवसायिक तर्फ आकर्षित बनेका हुनाले यस्ता भावका गीतहरु कमै बनेका हुन्। तर यहि मेसोमा पत्रकार तथा गीतकार सुमन पण्डितले राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक गरेका छन्।
गायिका सुनिला गुरुङको प्रस्तुतिमा रहेको गीत बुद्धिभूमिमा गायक कृष्ण केसी र सुनिला गुरुङको स्वर रहेको छ। गीतकार पण्डितको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायिका सुनिला गुरुङको पनि शब्द परिकल्पना रहेको छ । गायक कृष्ण केसीकै संगीत संयोजन रहेको यस गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको यो गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।
राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ लाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकै स्टेजमा सार्वजनिक गरेका छन् । भुकम्प दिवसको अवसर पारेर गोरखाको बारपाकमा आयोजित कार्यक्रमबाट गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीत सार्वजनिकपछि बोल्दै गीतले समग्र राष्ट्र र राष्ट्रियताको भाव बोलेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले गीतको प्रशंसा गरेका थिए।
‘बुद्धभूमि’ गीत समग्र देशको वर्तमान परिस्थितिलाई छर्लङ्ग उजागर गर्ने गीत बनेको पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताए। त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘बुद्धभूमि’ गीतको शब्द सिर्जनाले नेपालको वर्तमान परिस्थितिसँगै बाझो जमिन बनाएर विदेशिनेदेखि राजनीतिक नेतृत्वसम्मको कथालाई बोकेको बताए।‘बुद्धभूमि’ गीतले बुद्धको जन्मभूमि लुम्बिनी र सगरमाथाको देशको यथार्थ चित्रण गरेको छ।
राजनीतिक दलहरुले विदेशीको इशारामा चल्न हुन्न भन्ने सन्देशदेखि बाँझो जमिन छाडेर विदेशीको मेसिन बनिरहेका युवापुस्तालाई सम्बोधन गरेको गीत बनेको छ । वर्तमान नयाँ पुस्तालाई आफ्नो भूगोल र देशका सीमानाका बारेमा इतिहास पठाउनुपर्ने र देशको नयाँ मार्गचित्र कोर्नका लागि यो गीतले सन्देश बोकेको छ।