सुर्खेत,
यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ ।
डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
‘गत वर्षभन्दा यो पटक अलि छिटो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रजिअ महतले भने, ‘समयमै पानी र हिमपात भएपछि एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’
उनका अनुसार यार्चागुम्बा संकलनका लागि शे(फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम मान्छेहरूका लागि खुल्ला गरिने छ ।
यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रकालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार शुल्क निकुञ्जले निर्धारण गरेको छ ।