काठमाडौँ :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’का निर्देशकलाई नेपालका हलमा पुस्तक उपहार प्रदान गरिएको छ। निर्देशक फुर्वाछिरिङ लामालाई ठमेलस्थित छायाँ सेन्टरको हलमा एक दर्शकले उपन्यास उपहार दिएका हुन्।
निर्देशक लामा र सिनेमाटोग्राफर सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई र राम्रो फिल्म प्रदान गरेकोमा धन्यवाद दिए। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित जारलाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन्।
पुस्तक उपहार पाएपछि निर्देशक लामाले भने,‘नेपाली समुदायको इतिहास बोल्ने धेरै कथाहरू अहिलेको पुस्ताले थाहा पाउन जरुरी छ, भोलीको दिनमा पनि ऐतिहासिक दस्तावेज बन्नसक्ने चलचित्रहरू बनाउँदै जानु भन्ने शुभकामनासहित दर्शकले हलमै उपन्यास उपहार दिनुभयो। दर्शक र समिक्षकबाट प्राप्त प्रतिक्रियाले खुशी बनाएको भन्दै निर्देशक लामाले यो प्रकारको साथ भोलीको दिनमा पनि निरन्तर पाउने अपेक्षा राखे।
‘जार’मा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन्। नेपालमा पनि यो फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ। रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए। पर्दामा देखिरहेका कलाकारहरूलाई नजिकबाट देख्दा दर्शक उत्साहित देखिए, सेल्फीमा रमाए, अटोग्राफ लिए।
फिल्मले उठाएको कथावस्तु, विजिएम, सिनेमाटोग्राफी, कलाकारहरूको अभिनयकला, निर्देशकीय पक्षलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ। समिक्षकहरूले ‘जार’लाई उच्च रेटिङ प्रदान गरिरहेका छन्।
भारतमा उच्च माग
पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो फिल्मप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् । सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन्। यस्तै दार्जीलिङमा पनि फिल्मको शोज थप भएको छ।
‘हाल प्रदर्शनमा आएका सबै शहरमा फिल्मको उच्च माग देखिएको छ । सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ’, क्षेत्रीले भनिन्,‘दर्शकले ’जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं।’
दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा चलचित्र प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिइन्। अखिलेश राईको सम्पादन रहेको फिल्मको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। नेपालमा यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले प्रदर्शन तथा वितरण गरेको छ।