काठमाडौं :
अघिल्लो शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ले दर्शको साथ पाइरहेको छ। नपत्याउदो रुपमा फिल्मले दर्शक बटुलेपछि निर्माण टिम उत्साहित देखिएका छन्। त्यसै निर्देशक नविन चौहानसहित यतिबेला विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री हल भिजिटमा निस्किएका छन्।
उक्त टोलीले हालै दमौली, पोखरा, बुटवल र चितवनका विभिन्न सिनेमा हलहरूमा पुगी दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ। दर्शकहरू आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै उत्साहित देखिएका थिए भने कलाकारहरू पनि दर्शकको माया र उत्साह देखेर दङ्ग थिए। हलहलको यो भ्रमण चलिरहँदा, फिल्म युनिटले अप्रत्याशित रूपमा दर्शकहरूको ठुलो चाप अनुभव गरिरहेको छ। विशेष गरी किशोर उमेर समूहका दर्शकहरूले फिल्मलाई कसरी लिन्छन् भन्ने विषयमा दोधारमा रहेको निर्माण टोली स्वयं यो माया देखेर आश्चर्यचकित भएको छ।
सोमबार बिहानी शो मा चितवनको इन्द्रदेव हलमा पुगेका कलाकारहरूले किशोर दर्शकहरूको सागर नै उर्लिएको पाए। यो दृश्यले सम्पूर्ण टोलीलाई अचम्मित तुल्यायो। चितवन मात्र नभई विश्वभर नै किशोर दर्शकहरूले ुऊनको स्वीटरु लाई अत्यधिक मन पराइरहेका छन्।
फिल्मले पुस्तान्तरको भावनालाई जोड्न सफल भएको छ र दर्शकहरूको यो अभूतपूर्व मायाले फिल्म युनिटलाई थप उत्साहित बनाएको छ। फिल्मका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ पुरानो पुस्ताको कथामा आधारित भएकाले अहिलेको पुस्ताले यसलाई कस्तो प्रतिक्रिया दिने भन्ने बारे प्रारम्भमा आफूमा ठुलो डर र शङ्का रहेको तर अहिले आफ्नो भ्रम हट्दै गएको बताए।
यो फिल्म केही पुरानो पुस्ताको कथामा आधारित छ। त्यसैले मलाई यो विषयलाई अहिलेको पुस्ताले कसरी ग्रहण गर्छ भन्ने ठुलो डर र शङ्का थियो। चलचित्रमा प्रस्तुत गरिएको माया, प्रेम र अन्य प्रसङ्गहरू पनि पुरानै शैलीका छन्। तर अचम्मको कुरा के भयो भने, यो फिल्मलाई केवल एक वा दुई ठाउँमा मात्र नभई संसारभरका नयाँ पुस्ताका दर्शकहरूले अत्यन्तै धेरै मन पराएका छन्।
उनले भने,‘फिल्म हेरेपछि किशोर उमेर समूहका दर्शकहरू यसका ठुला प्रशंसक बनेका छन् र यसलाई उत्सवको रूपमा मनाइरहेका छन्। यसबाट मैले के बुझेँ भने, भावनाहरू समय र परिस्थितिको बन्धनमा रहँदैनन्। केही पुराना पुस्ताका दर्शकहरूले यसलाई मन पराउनु त स्वाभाविक थियो नै, तर सानासाना बालबालिकाहरूले समेत यो चलचित्रलाई उत्तिकै माया देखाइरहेका छन्।’
कलाकारहरूको नेपाल भ्रमण अझै जारी रहनेछ र उनीहरू देशका अन्य भागहरूमा पनि दर्शकहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ। फिल्मले पहिलो हप्ता नै ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको थियो भने हाल उक्त आँकडा बढेर निकै माथि पुगिसकेको छ।