काठमाडौं :
अभिनेता विजय बरालको मुख्य भुमिका रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को प्रदर्शन मिति तोकिएको छ। निर्माणपक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति भदौ ६ गतेलाई तय गरेको जानकारी दिएको हो।
सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन्। सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ। सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ। सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन्। अनुमान गरेका अनुसा मुख्य पात्र विजय बराल हुन् कि भन्ने लाग्छ।
दुब्लोपातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो। यो फिल्ममा आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो।
आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फर्ष्ट लुकमा देखाउने प्रयास गरिएको छ। फिल्म ‘जनै हराएको बाहुन ः सम्बन्धका धागाहरू’ छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ।
हिमाल न्यौपानेको निर्देशन रहेको यो फिल्ममा असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।
फिल्ममा विजय बरालका अलवा अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली,भोलाराज सापकोटा,रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन्।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको यो फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनलाई भन्ने छ। फिल्ममा आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने यो फिल्ममा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशकका रुपमा काम गरेका छन्। तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। फिल्मका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
सिनेमाको निर्माण पक्षले केही दिन पछि फस्टलुक पोस्टर सार्वजनिक गर्ने बताएको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । यस्तै विसं। २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।