काठमाडौं :
‘प्रेम गीत’ निर्माण भएको दश वर्षपछि निर्देशक सुदर्शन थापा र प्रदीप खड्काबीच दोस्रो सहकार्य हुने भएको छ। निर्देशक थापाले प्रदीपलाई लिएर फिल्म ‘शुभ विवाह’निर्माण गर्ने भएका हुन्। केहि दिनअघि निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै कलाकारको नाममा प्रदीपलाई राखेका छन्।
निर्देशक थापाले मंगलबार फिल्मको नाम सहित प्रदीपसँग सहकार्य गर्न लागेको जानकारी दिएका हुन्। उनले आफु र प्रदीपबीच दश वर्षपछि फिल्ममा सहकार्य हुन लागेको बताए।
उनले भने,‘प्रदीपसँग मेरो दश वर्षपछिको सहकार्य हो। गत वर्ष नै प्रदीपसँग मैले सहकार्यका लागि कागजी सम्झौता गरेको थिए। अब फिल्मको तयारी भएपछि नाम सार्वजनिक गरेका हौँ।’
उनले थपे,‘दश वर्षअघि फिल्म ‘प्रेम गीत’ सुपरहिट भएको थियो। यो फिल्मबाट धेरै कलाकारहरुले आफ्नो करिअर अगाडि बढाएका थिए। त्यसमध्ये एक हुन् प्रदीप खड्का। प्रेम गीत जस्तै अहिले बन्न लागेको फिल्म ‘शुभ विवाह’ पनि एक प्रेम कथामा आधारित पारिवारिक कथामा निर्माण हुन लागेको हो।’
यो फिल्मले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै एउटा विवाहको कथा बन्न लागेको निर्माण पक्षको भनाई छ। यो फिल्मका लागि अभिनेत्रीको भनेका अहिलेसम्म टुङ्गो लागेको छैन। निर्देशक थापाले केहि अभिनेत्रीसँग कुराकानी भइरहेको र फाइनल भइनसकेको बताए।
उनी भन्छन्,‘अहिले हिरोको रुपमा प्रदीप फाइनल भइसकेको छ। केहि अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको छु। फाइनल भइसकेको छैन। अभिनेत्रीसँगे केहि दिनमा अन्य कलाकार र प्राविधिकहरुको टुङ्गो लाग्नेछ।’
निर्देशक थापाको पछिल्लो निर्देशकिय फिल्म ‘रावायण’ हो। जुन फिल्म गत वर्ष प्रदर्शनमा आइसकेको छ। यो फिल्ममा सहकार्य गरेका निर्देशक थापा र पुजा शर्मा रहेका थिए। यो फिल्ममा पनि पूजा रहने हल्ला चलेको थियो। तर उनीहरुबीच सम्बन्ध राम्रो नभएपछि हिरोइन् को हुने हुन् त्यस बारेमा अहिले चासोको विषय बनेको छ।