चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् ।
सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाएका छन् ।
सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक प्रशासनले जारी गरेको सूचनामा तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा’ हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका ६ वटा पालिकाका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।
‘भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आज जारी गरेको सूचनामा लेखिएको छ ।
यसैगरी काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।