सुचना, समाचार र मनोरन्जन

भुवन केसीको ‘बाटुलो जून’को छायांकन सुरु, अनमोल–प्रिन्सीको मुख्य भूमिका

काठमाडौं :

अभिनेता तथा निर्देशक भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जून’को छायांकन सुरु भएकोछ। निर्माण पक्षले आजदेखि औपचारिक रूपमा फिल्मको छायांकन सुरु भएको जानकारी दिएको हो।

यस फिल्ममा नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाले मुख्य भूमिका निर्वाह गर्नेछन्। करिब २५ लाख लागतमा निर्माण हुने यस फिल्मलाई जिया केसीले लगानी गर्नेछिन्। फिल्म फ्लोरमा गएको जानकारी दिदै अभिनेत्री फिल्ममा काम गर्न पाउँदा एकदमै खुशी लागेको बताएकी छन्।

फिल्मका बारेमा प्रिन्सी खतिवडाले भनिन्,‘सनराइज पिक्चर्सको व्यानरमा आदरणीय भुवन केसी सरको प्रस्तुती फिल्म ‘बाटुलो जून’बाट अनमोल केसी सरसँग मेरो सिने यात्रा सुरु भएको छ। केही खुशी, केही नर्भस र केही उत्साहले मिश्रित अनुभूति भइरहेको छ। छायांकन आजबाट सुरु भएको छ।’

उनले थपिन्,‘जसरी अहिलेसम्म म सबैको साथ, माया र आशीर्वाद पाउँदै आएको छु, यो नयाँ सुरुवातमा पनि त्यो साथ, माया र आशीर्वाद निरन्तर पाउने आशा राखेको छु।’

हाल फिल्म निर्माण टिम धादिङको काउलेमा रहेको छ, जहाँ अंगुर खेतीको परिवेशमा फिल्मका केही दृश्यहरू खिचिनेछन्। मुख्य कलाकार बाहेक अरु को–को कलाकारहरू फिल्ममा रहनेछन् भन्नेबारे भने अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। यसैबीच, अनमोल केसीको आगामी फिल्म ‘जेरीः अन टप’ असोज ३१ गते रिलिज हुँदैछ भने उनले ‘ए मेरो हजुर ५’ मा पनि साइन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.