काठमाडौं :
चर्चित टेलिभिजन हास्य सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’ मार्फत दर्शकमाझ लोकप्रियता कमाएका अर्जुन घिमिरे पाँडे० निर्देशनमा डेब्यु गरेका छन्। उनले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त बिहीबार साउन १५ ९खीर खाने दिन० को अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा सम्पन्न गरेका हुन्।
गतवर्षसम्म टेलिभिजन सिरियल निर्माण तथा अभिनयमा सक्रिय घिमिरेले यसअघि अभिनय गरेको चलचित्र ‘लाज शरणम्’ बक्स अफिसमा सफल भएपछि निर्देशनमा हात हालेका हुन्। उनले फिल्ममा अभिनय गर्ने या नगर्ने भन्ने विषय भने औपचारिक रूपमा खुलाइएको छैन।
शुभमुहूर्तसँगै चलचित्रको छायांकन कार्य सुरु गरिएको छ, जुन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरिने बताइएको छ। चलचित्रमा प्रियाना आचार्य (मुन्नी) को मुख्य भूमिका रहनेछ। उनी ‘सक्किगोनि’ टिमबाट समावेश गरिएकी एक्ली कलाकार हुन्।
यस चलचित्रबाट अभिनेता गणेश उप्रेती करिब ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गर्दैछन्। साथमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायत कलाकारको पनि अभिनय रहनेछ।
पारिवारिक कथामा आधारित यस चलचित्रको कथा कुमार व्यञ्जनकार ‘कुमार बेन’ले लेखेका हुन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेको रहेको छ। बुद्ध थापाले चलचित्रको छायांकन गर्नेछन् भने सुशील कडरिया लगानीकर्ता हुन्।
चलचित्रको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप समावेश गरिने जनाइएको छ। उक्त गीतमा रास्वापा नेता गणेश कार्कीको रचना रहनेछ। शुभमुहूर्त कार्यक्रममा बालेन शाहकी पत्नी सविना काफ्लेको उपस्थिति रहेको थियो।
चलचित्रको छायांकन अवधि ४५ दिनको तय गरिएको छ। निर्माण टिमले यसलाई गुणस्तरीय पारिवारिक फिल्मको रूपमा तयार पार्ने लक्ष्य लिएको जनाएको छ।
