सुचना, समाचार र मनोरन्जन

‘हिमालयन गोल्ड’की अभिनेत्री परीक्षा लिम्बु भन्छिन्,‘ पिलरको काम गरेकी छु’

काठमाडौं :

नेपाली दर्शकमाझ चर्चामा रहेकी अभिनेत्री हुन् परीक्षा लिम्बु। उनले ‘जारी’,‘छक्का पञ्जा ४’,‘पुजार सार्की’ र पछिल्लो समयले ‘ऊनको स्वीटर’मा अभिनय गरेकी छन्। उनका अधिकांश फिल्म हिट छन्। उनै अभिनेत्री परिक्षा लिम्बू अभिनित फिल्म ‘हिमालयन गोल्ड’ प्रदर्शनको तयारीमा छन्। यही मंसिर ४ गतेबाट रिलिज हुने यस फिल्ममा उनी सोनाम पात्रको भूमिकामा देखिँदैछिन्। हिमाली परिवेशमा निर्माण गरिएको यो फिल्ममा परीक्षा फिल्मकी प्रमुख पात्र हुन्। परीक्षाको अनुभवमा उनका लागि ‘हिमालयन गोल्ड’ सिकाई र चुनौति दुवै हो।

उनले यस फिल्ममा आफूलाई घरको पिलरमा रुपमा लिएकी छन्। मिडियाकर्मीसँगको कुराकानीमा उनी भन्छिन्,‘सिंगो कथा एक्लै बोक्नु भन्दा पनि कथा अनुसार मैले न्याय गरेको छु भन्ने लागेको छ । मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु । निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाई थियो। जसले गर्दा राम्रोसँग काम गर्ने वातावरण बन्यो।’ फिल्मका बारेमा केहि कुराकानी गरेकी छन्। साथै उनलेआफ्ना अनुभव यसरी साटिन्।

अघिल्ला फिल्मजस्तै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हिमालयन गोल्ड’प्रमुख भुमिकाको हिसावले सिंगो कथा एक्लै बोक्न कत्तिको गाह्रो हुँदो रहेछ ?

मैले यो फिल्मको सिंगो कथा एक्लै बोकेछु भन्दा पनि त्यो कथा अनुसार मैले न्याय गरेको छु भन्ने लागेको छ। एक्लैले कथा बोक्न सकिदैन,सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु। निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाई थियो । जसले गर्दा राम्रोसँग काम गर्ने वातावरण बन्यो। मेरो चरित्रलाई राम्रोसँग निभाउन टिमका सबै सदस्यको उत्तिकै योगदान थियो।

चुनौती कतिको छ भन्न खोजेको हो?

मलाई चुनौतीपूर्ण त लागेकै थियो। तर टिम राम्रो भएपछि त्यो यात्रा रमाइलो भयो। अहिले सम्झिँदा रमाइलो पनि लाग्छ।

निर्माण पक्षले तपाई नै यो फिल्मको प्रमुख भूमिकामा हो है भनेर अफर गर्दा तपाईमा डर थियो कि उत्साह?

सुरुमा जब निर्देशकले कथा न्यारेट गर्नुभयो र सोनामको चरित्र अफर गर्नुभयो। त्यतिबेला म मिश्रित इमोसनमै थिएँ। एक्साइटेड पनि थिएँ र अलिकति कता कता नर्भसनेस पनि भएको थिए। यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने पनि मनमा लागेको थियो। मैले कहिले पनि यस्तो पात्र, चरित्रलाई प्रत्यक्ष रुपमा नभेटेको र नदेखेको हुँदा अलिकति चुनौतीपूर्ण पनि थियो। त्यो चुनौतीमा काम गर्न मलाई एक किसिमको रमाइलो पनि लाग्यो।

हिमाली भेगका कथामा काम गर्नु भएको थियो त?

हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै पनि एक्स्प्लोर गरेको थिइनँ । मेरो उत्साहले मलाई अगाडि बढिराख्न मोटिभेट गर्यो अनि त्यो नभर्सनेसले कता कता जिम्मेवार पनि बनाइरहेको थियो।

मैले यति कुरा थपिहाले,तपाईंको आत्मविश्वास कस्तो थियो ?

Pach Pandav

मैले करियरको सुरुवातदेखि नै एकदमै राम्रो टिम,राम्रो व्यानरसँग काम गर्ने अवसर पाएको छु। जसले गर्दा मेरो आत्मविश्वास बढ्दै गइरहेको छ। हरेक समय अग्रज कलाकारहरुसँग काम गर्दा त्यसलाई चुनौती भन्दा पनि एउटा सिक्ने अवसरको रुपमा लिन्छु। उहाँहरुको अनुभव, काम गर्ने तरिकाबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ। जसकारण भर्खरै आइरहेको मान्छेलाई प्रोत्साहन मिल्छ जस्तो लाग्छ। यो फिल्ममा पनि सुनिल थापा सर र अरु एकदमै धेरै राम्रो कलाकार हुनुहुन्छ। जोसँग मैले स्क्रिन शेयर गर्ने मौका पाएको छु। विस्तारै आत्मविश्वास बढ्दै गइरहेको फिल भइरहेको छ।

यो फिल्ममा काम गर्न राजी हुनुको कुनै त्यस्तो कारण छ कि? फिल्म हो पाइयो खेलुम भन्ने लाग्यो?

यो फिल्मको कथा र यसको परिवेशले मलाई आकर्षित गरेको हो। आफूले अहिलेसम्म नगरेको अलिक फरक खालको फिल्ममा काम गर्न पाउँछु पनि भन्ने भएको थियो। अनि एउटा कलाकारका लागि एउटै किसिमको भूमिकामा सीमित नराखी नयाँ नयाँ खालको चरित्रमा काम गर्न पाउनु एउटा राम्रो अवसर हो जस्तो लाग्छ। त्यही भएर पनि यो प्रोजेक्टमा अभिनय गर्न राजी भएँ।

सोनाम पात्रमा हुनुहुन्छ भन्ने बुझिएको छ? चरित्रमा आफूलाई ढाल्न कस्तो तयारी गर्नुभयो ?

चरित्रमा आफूलाई ढाल्नका लागि मैले त्यो क्यारेक्टरलाई बुझ्ने कोशिस गरें। उसले कसरी सोच्छ, उसको व्यवहारदेखि लिएर,उसले गर्ने अवस्था कस्तो छ,उसले गर्ने निर्णयको पछाडिका कारणहरु बुझ्न खोजें। टिम सदस्यको सहयोग, निर्देशकको भिजन, कुनै पनि क्यारेक्टर लेखिरहँदा निर्देशकको आफ्नो भिजन हुन्छ। बुझाई हुन्छ। त्यो क्यारेक्टर अर्थात् सोनामलाई लिएर धेरै नै छलफल गरेका थियौँ।

यो फिल्मको चरित्रसँग तपाईको आफ्नो वास्तविक स्वभाव कत्तिको मिल्छ अर्थात समानता छ?

निकै कुराहरु मिल्छन्। हामीबीच कतिको समानता छ भन्ने प्रश्नमा केही कुराहरु चाहिँ मसँग मिल्छ। तर धेरै कुरामा म र सोनामबीच फरक नै छ। सायद त्यही कुराले नै कुनै कुनै प्रस्तुतीकरणलाई अझ रोचक बनाउँछ जस्तो लाग्छ।

तपाईलाई कस्तो क्यारेक्टर गर्न मन लाग्छ?

मलाई कलाकारका रुपमा जहिल्यै पनि आफूभन्दा फरक सोच भएको अथवा आफू भन्दा फरक क्यारेक्टरमा काम गर्न मन लाग्छ । सायद सबै कलाकारलाई त्यही नै हुन्छ जस्तो लाग्छ। त्यही गर्न पाउनु नै अभिनयको एउटा राम्रो पक्ष हो जस्तो लाग्छ।

तपाईलाई यो फिल्म (हिमालयन गोल्ड) अग्नीपरीक्षा हो भन्दा फरक पर्ला हो?

मेरो लागि यो फिल्म अग्नीपरीक्षा भन्दा पनि आफूले गर्ने हरेक फिल्मका हरेक पात्रले आफूलाई के दिन्छ र आफूले पनि त्यो पात्रलाई के दिने कोशिस गरिन्छ भन्ने कुरा हो। त्यो पात्रबाट के कुरा सिकिन्छ। कतिपय कुरा सिकिन्छ र अनुमान पनि हुन्छ। कलाकारका रुपमा आफूले कतिको चुनौती लिएर कतिको न्याय दिन सकियो भन्ने कुरा बराबर महत्वपूर्ण नै हुन्छ। अन्तिम नतिजा त दर्शकले फिल्म हेरिसकेपछि नै दिनुहुन्छ।

दर्शकले यो फिल्म हेरिसकेपछि तपाईंको अभिनयलाई सम्झिन्छन् त?

दर्शकले मेरो नाम भन्दा पनि मैले निभाएको चरित्र सोनामलाई सम्झिनुभयो भने मेरो लागि एकदमै ठूलो कुरा हुनेछ। फिल्म हेरिसकेर हलबाट बाहिर निस्कदा पछिसम्म पनि सोनाम चरित्र उहाँहरुको मनमा रहिरहोस्। त्यसको कुनै एउटा दृश्य, कुनै एउटा इमोसन पछिसम्म पनि सम्झना आइरहोस् भन्ने चाहन्छु।

Leave A Reply

Your email address will not be published.