सुचना, समाचार र मनोरन्जन

सेप्टेम्बर ९ मा आउँदैछ आइफोन १७, यी हुनेछन् फिचर्स

क्यालिफोर्नियाको क्यूपर्टिनोस्थित एप्पल मूख्यालय हुने उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिज तथा नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ।

नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित वार्षिक समारोह आगामी सेप्टेम्बर ९ मा हुने भएको छ । उक्त समारोहको नाम Awe Dropping राखिएको छ ।

उक्त समारोहमा लागि एप्पलले सञ्चार माध्यमहरुलाई निमन्त्रणा पठाएको सिएनएनले उल्लेख गरेको छ। स्मरण रहोस् एप्पलले सन् २०१२ देखि नै हरेक वर्ष सेप्टेम्बरमा आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ ।

क्यालिफोर्नियाको क्यूपर्टिनोस्थित एप्पल मूख्यालय हुने उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिज तथा नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ ।

विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा श्रोतहरुलाई उधृत गर्दै आएका समाचारहरुका अनुसार यसपटक एप्पलले आइफोन १७, आइफोन १७ प्रो तथा आइफोन १७ प्रो म्याक्ससँगै आइफोन १७ एयर पनि लञ्च गर्नेछ । आइफोन एयर भर्सन निकै पातलो र हलुका हुनेछ ।

यो मोडल डिजाइनमा उल्लेख्य परिवर्तनका साथै निकै साँघुरो बेजल (स्क्रिनको चारैतर्फ रहेको घेरा) को साथ आउनेछ । एप्पलले यस पटकबाट आइफोनको प्लस मोडेललाई अन्त्य गर्नेछ ।

समाचारमा दाबी गरिए अनुसार आइफोन १७ एयरलाई एप्पलले अधिकाधिक पातलो बनाउने कोसिस गरेको छ । हालै सामसुङले पनि ग्यालेक्सी एस२५ एज लञ्च गरेको थियो, जुन अत्यन्तै पातलो छ । यद्यपि ग्यालेक्सीको उक्त पातलो संस्करणलाई प्रयोगकर्ताले खासै रुचाएका छैनन् ।

यस्तो अवस्थामा एप्पलको पातलो आइफोन प्रयोगकर्ताहरुको रुचीमा पर्छ कि पर्दैन त्यो हेर्न बाँकी छ । आइफोन १७ एयरको मोटाई ५।५ देखि ५।६ मिलिमिटर हुने बताइएको छ ।

आइफोन १७ को प्रो मोडेलमा ठूलो क्यामेरा सेन्सर, उत्कृष्ट अप्टिकल सिस्टमसँगै अद्यावधिक प्रोसेसर हुने बताइएको छ । नयाँ आइफोनको सफ्टवेयरप्रति धेरैको चासो छ । अहिलेको एआईको युगमा एप्पल नवप्रवर्तकको रुपमा अगाडि आउँछ कि पूरानै ढर्रा दोहोराउँछ भन्ने विषयलाई वालस्ट्रिटले हेरिरहेको सिएनएनको विश्लेषण छ ।

एयर मोडेलमा सिंगल क्यामेरा सेटअप हुनेछ। त्यस्तै स्याटेलाइट कलिंग फिचरलाई पनि अपग्रेड गरिनेछ एप्पलले आफ्नो ए१९ चिपसेटलाई आइफोन १७ सिरिजका सबै मोडेलमा उपलब्ध गराउने सम्भावना छ ।

आइफोन १७ सिरिजको मूल्यका बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । आधिकारिक मूल्य तथा बजारमा उपलब्ध हुने मिति एप्पलले सेप्टेम्बर ९ मै सार्वजनिक गर्नेछ ।

आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित समारोहलाई कम्पनीले एप्पल डटकम, एप्पल टिभी तथा युट्युबबाट समेत प्रत्यक्ष प्रशारण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.