सुचना, समाचार र मनोरन्जन

गण्डकी आयुर्वेद अस्पतालद्वारा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न भिडियो प्रतियोगिता गर्ने

पोखरा,

आयुर्वेदिक जीवनशैली, योग र स्वस्थ आहारविहारका माध्यमबाट रोग रोकथामसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गण्डकी आयुर्वेद अस्पताल, पोखराले खुला जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्तीको अवसर पारेर अस्पतालले प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामार्फत नसर्ने रोगको जोखिम न्यूनीकरण र स्वस्थ जीवनशैली अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने लक्ष्य राखिएको अस्पतालले जनाएको छ। प्रतियोगितामा सहभागी हुनेले नसर्ने रोगको रोकथाममा आयुर्वेदको भूमिका, प्रकृतिअनुकूल खानपान र आनीबानी, योग तथा व्यायाम, पर्याप्त निद्रा, मानसिक स्वास्थ्य, स्वास्थ्य प्रवर्द्धन र औषधिको उचित प्रयोगजस्ता विषय समेटेर भिडियो तयार गर्नुपर्नेछ।

Pach Pandav

भिडियो दुईदेखि तीन मिनेटसम्मको हुनुपर्नेछ। भिडियो मौलिक, सन्देशमूलक र जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने खालको हुनुपर्नेछ। साथै, भिडियोमा प्रयोग गरिने सामग्री तथा सङ्गीतको प्रतिलिपि अधिकारसम्बन्धी नियम पालना गर्नुपर्ने अस्पतालले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८३ कात्तिक २० गते दिउँसो १ बजेसम्म आफ्नो भिडियो गुगल ड्राइभमा अपलोड गरी त्यसको पहुँचयोग्य लिङ्क अस्पतालको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई नगद पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले तीन हजार र तृतीय हुनेले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन्।

अस्पतालले आयुर्वेदको महत्त्व, रोग रोकथाम र स्वस्थ जीवनशैलीबारे सकारात्मक सन्देश फैलाउन इच्छुक सबैलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारी पोखरा, लेखनाथस्थित गण्डकी आयुर्वेद अस्पतालबाट प्राप्त गर्न सकिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.