पोखरा,
फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट निर्माण गरिएको १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ पोखराका विभिन्न सार्वजनिक स्थलमा प्रदर्शन गरिएको छ। रिसाइकलिङ र अपसाइकलिङको महत्वलाई कलात्मक सिर्जनामार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको ‘रुरु द जायन्ट टेडी बियर’ पोखरामा आयोजना हुने दोस्रो संस्करणको आरयू फेस्ट ‘रि–थिङ्क २०२६’ को विशेष आकर्षण बन्ने भएको छ।
म्युज नेपालले अवधारणा, डिजाइन, निर्माण तथा उत्पादन गरेको रुरु सार्वजनिक कला स्थापना (पब्लिक आर्ट इन्स्टलेसन) र घुम्ती प्रतीक (ट्राभलिङ मस्कट) का रूपमा तयार गरिएको हो। यसको निर्माणमा फालिएका कपडा तथा प्रयोग भइसकेका विभिन्न सामग्री प्रयोग गरिएको छ। संरचनालाई बलियो बनाउन बाँसको भित्री ढाँचा बनाइएको छ।



रुरुलाई नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक प्रदर्शन गरिएको थियो। त्यसपछि नोभेम्बर १४ अर्थात् कात्तिक २८ गते भाटभटेनी र रानीपौवामा प्रदर्शन गरिएको र नोभेम्बर १७ अर्थात् मंसिर १ गते गौरिघाट पार्कमा सर्वसाधारणका लागि प्रस्तुत गरिएको थियो।
यसरी पोखराका विभिन्न सार्वजनिक स्थलमा रुरुको उपस्थिति गराउँदै फोहोर व्यवस्थापन र पुनः प्रयोगको सन्देश प्रवाह गरिएको छ। मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने आरयू फेस्टका दुवै दिन पनि सर्वसाधारणले यसलाई नजिकबाट अवलोकन गर्न पाउनेछन्। महोत्सवपछि पनि रुरुको यात्रा जारी रहनेछ। यसलाई पोखराका विभिन्न स्थानमा घुमाउँदै वातावरण संरक्षण र पुनः प्रयोगको सन्देश प्रवाह गरिनेछ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोग तथा पोखरा महानगरपालिकाको समन्वयमा सञ्चालित रिसाइकलिङ तथा अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने परियोजना (जीसीआरयू) अन्तर्गत यो सिर्जना गरिएको हो।


‘फोहोरबारे मानिसलाई उपदेश नदेऊ, पहिले फोहोरसँगै प्रेम गर्न सिकाऊ’ भन्ने फरक अवधारणामा आधारित रुरुले बालबालिका तथा सर्वसाधारणमा भावनात्मक आकर्षण सिर्जना गर्दै फोहोरप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अपेक्षा गरिएको छ। सामान्यतया माया, बाल्यकाल र आत्मीयताको प्रतीक मानिने टेडी बियरलाई प्रयोग गरेर फालिएका सामग्रीबाट पनि आकर्षक सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो।
‘रुरु’ नाम पनि रिसाइकलिङ र अपसाइकलिङ शब्दका आरयू अक्षरको पुनरावृत्तिबाट राखिएको हो। यसले फालिएका सामग्रीलाई पटक–पटक नयाँ स्वरूप, उपयोगिता र जीवन दिन सकिने अवधारणा बोकेको छ।

महोत्सवपछि पनि रुरुको यात्रा जारी रहनेछ। मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने आरयू फेस्टमा प्रदर्शन गरिएपछि यसलाई पोखरा महानगरपालिकाको जिविजेटी (GCRU) परियोजनाको भवनमा राखिनेछ। त्यहाँबाट पनि रुरुले पुनः प्रयोग, पुनःप्रशोधन र फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउने प्रतीकका रूपमा भूमिका निर्वाह गर्नेछ। रुरुमार्फत फालिएका सामग्रीको पनि नयाँ उपयोग र मूल्य हुन सक्छ भन्ने सन्देश आमनागरिकसम्म पुर्याउने परियोजनाको लक्ष्य छ। फोहोरलाई समस्याका रूपमा मात्र नहेरी सिर्जनशीलता र अवसरको स्रोतका रूपमा बुझ्न प्रेरित गर्नु यसको मुख्य उद्देश्य हो।
पोखरा महानगरपालिकाको आयोजनामा कोइका र यूएनडीपी नेपालको सहयोगमा हुन लागेको आरयू फेस्टको दोस्रो संस्करण ‘रि–थिङ्क २०२६’ ले रिसाइकलिङ, अपसाइकलिङ तथा चक्रीय अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। सन् २०२५ मा आयोजित पहिलो संस्करणमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका थिए।
यस वर्षको महोत्सवमा समुदाय, युवा, विद्यार्थी, नवप्रवर्तक तथा उद्यमीलाई सहभागी गराउँदै फोहोरबाट नयाँ उत्पादन, उद्यमशीलता र हरित रोजगारी सिर्जना गर्ने सम्भावना उजागर गरिनेछ।