काठमाडौं :
कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अहिले ‘छक्कापञ्जा कमेडी टुर’ लिएर अमेरिकामा रहेका छन्। सोही क्रममा उनीहरूले शनिबार टेक्सासमा आयोजित विशेष कार्यक्रमका बीच ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’को उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा उनीहरूलाई कलाकार महादेव त्रिपाठीले साथ दिएका थिए। उद्घाटनपछि दीपकराज र दीपाश्रीले सैलूनमा आफ्नो हेयर कटिङ र कलरिङ सेवा समेत लिएका थिए।
यो सैलूनलाई सुरेन्द्र ठाकुरले सञ्चालनमा ल्याएका हुन्। सुरेन्द्रले यसअघि ललितपुरको कुमारीपार्टीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए। पहिलो शाखा काठमाडौँको सुन्धारास्थित सिभिल महलमा सञ्चालनमा आएपछि अहिले अमेरिकाको टेक्सासमा शाखा विस्तार गरिएको हो। अमेरिकामा खुलेको यो दोस्रो शाखा हो।

उद्घाटनपछि कलाकार दीपकराज गिरीले भने, “हेयर स्टाइल र व्यक्तिगत हेरचाह व्यक्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ, त्यसैले सबैले यसमा ध्यान दिनु जरुरी छ।” उनले नेपाली सैलूनले विदेशमा सेवा विस्तार गर्दै गरेको देख्दा खुशी लागेको बताए।
त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सैलूनले गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली र कलाकारहरूले यसबाट लाभ लिन सक्ने बताइन्।
सैलूनका सञ्चालक सुरेन्द्र ठाकुर २५ वर्षदेखि यस पेशामा संलग्न छन्। उनका अनुसार, सैलूनमा महिला र पुरुष दुवैका लागि हेयर कट, कलरिङ, र मसाज सेवाहरू उपलब्ध छन्। सुरेन्द्रलाई उनकी श्रीमती सुनिता ठाकुरले सहकार्य गर्दै आएकी छन्।
स्मरण रहोस्, अमेरिकामा सैलूनको पहिलो शाखा अभिनेता राजेश हमालले उद्घाटन गरेका थिए। यसपटक टेक्सास शाखाको उद्घाटनको सम्पूर्ण व्यवस्थापन कलाकार महादेव त्रिपाठीले गरेका थिए।
दीपक–दीपाले हालै **टेक्सासमा आयोजित ‘मम फेस्टिभल २०२५ – दसैं–तिहार मेला’**मा आफ्नो पहिलो प्रस्तुति दिएका थिए। सो कार्यक्रममा जीतु नेपाल, प्रेमराजा महत, अस्मिता अधिकारी, र महेश काफ्लेलगायत कलाकारहरूको प्रस्तुति रहेको थियो। उनीहरूको अमेरिकी टुरका अन्य कार्यक्रमहरू अझै जारी छन्।