काठमाडौं :
अर्जुन सापकोटाको आवाजमा रहेको गीत ‘झलिको’ रिलिज भएको १९ दिनमै युट्युबमा एक करोड भ्युज पार गर्दै ‘करोड क्लब’मा प्रवेश गरेको छ। छोटो समयमा प्राप्त भ्युजले यो गीत पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको पुष्टि गरेको छ।
अर्जुन,मेलिना राई र समीक्षा अधिकारीको स्वरमा रहेको यस गीतमा केही दिनमै गीत टिकटक र फेसबुकमा व्यापक ट्रेन्ड बनेपछि यसको दर्शक–स्रोतामा उछाल आएको हो।
गीतमा सन्तोष सापकोटाको शब्द, अर्जुनकै संगीत र एचबीएन किस्मतको संगीत संयोजन छ। वैदेशिक रोजगारीमा जाने युवाको कथा प्रस्तुत गरिएको गीतको भिडियो अभिनयमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत छन्। घान्द्रुकमा छायांकन गरिएको भिडिओलाई विशाल घिमिरेले निर्देशन गरेका छन्। छायांकन बुद्ध थापा, सम्पादन दिन्शन शाह र कोरियोग्राफी मुकेश नेपालीको रहेको छ।
८ हजार २ सय भन्दा बढि कमेन्ट गीतको भिडियोले पाएको छ। जहाँ अधिकांशले गीतको साथै भ्युजको तारिफ गरेका छन्। युटुब हेरेका गंगा सुवेदी भन्छन्,‘ हामी पर्देशीको कुनै भर छैन । यसरी कुन दिन फर्कन पर्ने हो कि, मेरा बाआमाले रुँदै जिन्दगी काट्नु पर्ने हो कि भन्ने कुराले सधैं सताइरहेको हुन्छ। सारै मुटुछिया छिया भयो अन्तिम पार्टले। सारै राम्रो गीत,आँशु झरेको मेसै भएन। धन्यवाद । यस्तै अझै उत्कृष्ट गीतहरू हामीबीच ल्याई राख्नु होला। भगवानले सधैं रक्षा गरून्।’
अर्को कमेन्टकर्ता अर्जुन शाहीले भनेका छन्,‘मार्मिक शब्द र अभिनय छ गतीले देश खाने पक्का। प्रकाश दुतराजलाई सम्झिने हाजिर हुनुहोला।’
साथै यो गीतको भिडियोलाई एक लाख ५७ हजारले लाईक गरेका छन्। यसअघि पनि अर्जुनका ‘पछ्यौरी लिसियो’, ‘बस्यौ अलक्कै’, ‘दुःख साट्म्ला’लगायतका गीतहरू युट्युबमा दमदार सफल भएका थिए।