पोखरा,
रेबान लेकसाइड पोखराको आयोजनामा हुन गइरहेको २७औँ पोखरा स्ट्रिट फेस्टिभल अन्तर्गत कोमागाने पार्क, लेकसाइडमा सञ्चालन हुने मुख्य स्टेज कन्सर्टका लागि विभिन्न साझेदारीहरू हुँदै गएका छन्। यसै क्रममा जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट फेस्टिभलमा जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट एजुकेशनल पार्टनरको रुपमा रहने भएको छ । यस सम्बन्धमा जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्टका प्रबन्ध निर्देशक राजन पन्थी र इभेन्ट पार्टनर अल्टेक अदिती श्रेष्ठ बीच हालै औपचारिक सहमती भएको हो ।
प्रबन्ध निर्देशक राजन पन्थीले युवामुखी, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “शिक्षासँगै कला, संगीत र समुदायसँग जोडिने कार्यक्रमलाई समर्थन गर्नु हाम्रो संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो।” उनले यस वर्षको पोखरा स्ट्रिट फेस्टिभल अझ व्यवस्थित, भव्य र सफल हुने विश्वास समेत व्यक्त गरे।
इभेन्ट पार्टनर अल्टेक नेपालका अनुसार महोत्सव २०२५ डिसेम्बर २८ देखि २०२६ जनवरी १ सम्म सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष संगीत प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम, साथै स्थानीय परिकार र उत्पादनहरूको प्रदर्शन तथा बिक्री हुने आयोजकले जानकारी दिएका छन्। महोत्सवको मुख्य आकर्षणका रूपमा रहने मुख्य स्टेज कोमागाने पार्क, लेकसाइड पोखरा मा सञ्चालन हुनेछ।
आयोजकले पोखरा स्ट्रिट फेस्टिभलले पर्यटन प्रवर्द्धन, स्थानीय व्यवसायको प्रोत्साहन र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिएको छ।