काठमाडौं :
यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मिरमिरे’को टाइटल गीत सार्वजनिक गरिएको छ। ‘मिरमिरे भो’ बोलको गीतमा गायक प्रकाश सपूत र गायिका मेलिना राईको स्वर रहेको छ भने शब्द र संगीत पनि प्रकाश सपूतकै रहेको छ।
सार्वजनिक गीतमा युवा–युवतीबीचको प्रेम, पहिलो भेटपछिको आकर्षण र सुन्दरताले सिर्जना गर्ने भावनात्मक प्रभाव प्रस्तुत गरिएको छ। युवकको दृष्टिले युवतीमा पार्ने प्रभाव र युवतीको सौन्दर्यको बयान गीतका शब्दमार्फत व्यक्त गरिएको छ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको अभिनय रहेको छ। भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई चित्रण गरिएको छ, जहाँ सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशबीचको सम्बन्ध देखाइएको छ। यसले चलचित्रमा त्रिकोणात्मक प्रेम कथा रहेको संकेत गर्छ, जुन यसअघि सार्वजनिक टिजरमा पनि झल्किएको थियो।
माघ १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रको टिजर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। टिजरमा बाबु–छोरीबीचको भावनात्मक सम्बन्धसँगै मुख्य तीन पात्रबीचको सम्बन्ध र द्वन्द्वलाई प्रस्तुत गरिएको थियो।
चलचित्र ‘मिरमिरे’मा दयाहाङ राईले बाबुको भूमिका निर्वाह गरेका छन् भने उनकी छोरीको भूमिकामा शाइसा गौचन देखिएकी छन्। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्र ‘मिरमिरे’को देशभरको वितरण जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।