पोखरा,
पोखरा २१ मा पहिलो सुन्तला मेला सम्पन्न भएको छ । नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं २१ को कार्यालय र वडा स्तरीय कृषि सञ्जालको आयोजनामा दोपहरे हर्राबोटमा सुन्तला मेला २०८२ सम्पन्न भएको हो ।
मेलामा उत्कृष्ट सुन्तला कृषकहरूलाई सम्मान गरिएको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा २१ का कृषक प्रभा पौडेललाई नगद १० हजार सहित सम्मान गरिएको हो । उनले ४० रोपनी क्षेत्रफलमा करिब ७ सय बोट सुन्तला लगाएकी छिन् । यस्तै १२ रोपनी क्षेत्रफलमा २४० सुन्तलाका बोटहरू लगाएका पोखरा २१ कै कृषक दीपेन्द्रराज आचार्यलाई नगद रु।७ हजारले सम्मान गरिएको छ । सोही वडामा १३ रोपनी क्षेत्रफलमा करिब १९० बोट सुन्तला लगाएका कृषक विजय सुवेदीलाई नगद रु।५ हजार सहित सम्मान गरिएको छ ।
मेलामा सुन्तला ग्रेडिङ प्रतियोगितामा भीममाया सुवेदी प्रथम, भोज बहादुर थापा द्धितिय र लक्ष्मी थापा तृतीय भएका छन् । उनीहरूलाई क्रमशः रु।५ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै सुन्तला खाने प्रतियोगिता श्रीधर बराल, अर्जुन अधिकारी र बाबुराम ढकाल प्रथम, द्धितिय र तृतीय भएका छन् । उनीहरूलाई ५ केजी, ३ केजी र २ केजी सुन्तला पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट झाँकी प्रदर्शन गरेको बालन एवं कला संस्कृति प्रतिष्ठान नेपाल प्रथम हुँदै नगद रु. ५ हजार प्राप्त गरेको छ । यस्तै प्रगतिशील आमा समूह द्धितिय र राधाकृष्ण आमा समूह तृतीय भएका छन् । उनीहरूलाई नगद रु।३ हजार र २ हजार प्रदान गरिएको छ । सुन्तला स्टल सजावटमा हर्राबोट कृषक समूह प्रथम, नव सिर्जना कृषक समूह द्धितिय र वि गार्डेन कृषि फार्म तृतीय भएका छन् । उनीहरूलाई क्रमशः रु।५ हजार, ३ हजार र २ हजार उपलब्ध गराइएको छ ।
यसअघि मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । मेलाको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगरपालिका कृषकहरू साथमा रहेको प्रतिबद्धता जाहेर गरे । कृषकहरूलाई मल, विउविजन, उपकरण र प्रविधिमा आवश्यक सहयोगका लागि महानगरपालिका कृषकहरूको साथमा रहेको उनले बताए । महानगर क्षेत्रको स्थानीय उत्पादनको बजारीकरणका लागि महाशाखा मार्फत ढुवानी र बजार क्षेत्रमा कृषिबजारहरु सञ्चालनमा सहजीकरण गरिरहेको उनले उल्लेख गरे । पोखराको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत पठाउने गरी गुणस्तरीय उत्पादनमा उनले जोड दिए ।
वडा अध्यक्ष दीपक सुवेदीले आफ्नो वडा सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्नु पर्नेमा जोड दिए । स्थानीय कृषकहरूले प्राकृतिक विपत्तिका कारण धेरै समस्याहरू भोगिरहेको उल्लेख गर्दै महानगरपालिकाले विपद्बाट भएको क्षतिको परिपूरण र थप अनुदानका कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने बताए ।
पोखरा महानगरपालिका क्षेत्रमा यस वर्ष ३५० हेक्टर क्षेत्रफलमा ३५ सयदेखि ४ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यस व्यवसायमा करिब ५ सय कृषकहरू आबद्ध भएका छन् भने, सुन्तलाको विक्रीबाट करिब १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।