चितवन :
कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजनामा तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। चलचित्रप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि, आलोचनात्मक दृष्टिकोण विकास तथा सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेल, चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, श्री माध्यमिक विद्यालय सहपुरका प्रधानाध्यापक प्रेम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य चित्रबहादुर भण्डारी, चलचित्र निर्देशक अमरदीप सापकोटा, पत्रकार प्रबिन किराँती र पत्रकार प्रेम पौडेललगायतको विशेष उपस्थिति रहेको थियो। शिक्षक–शिक्षिकाको समेत उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेलले डिजिटल युगमा चलचित्र शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सामाजिक चेतना र अभिव्यक्तिको क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने बताए।
चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवालले विद्यालय तहबाटै चलचित्र साक्षरताको सुरुवात आवश्यक रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई विभिन्न विद्यालयमा विस्तार गर्ने योजना रहेको जानकारी दिए। चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई शिक्षा, चेतना र समाज परिवर्तनको प्रभावकारी माध्यमका रूपमा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारीले विद्यालयमा यस्ता ज्ञानमूलक तथा व्यवहारिक कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजक र सहकार्य गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङले पनि कार्यक्रमले विद्यार्थीहरूको सोच र दृष्टिकोण फराकिलो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले चलचित्र साक्षरता कार्यक्रमले चलचित्र बुझ्ने, विश्लेषण गर्ने र सिर्जनात्मक रूपमा प्रयोग गर्ने सीप विकास गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।