सुचना, समाचार र मनोरन्जन

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैनः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डौमा आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल नामक कार्यक्रममा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनका अनुसार समृद्धिका लागि निजी क्षेत्रलाई संरक्षण गर्ने विषय अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सकेको छैन ।

अध्यक्ष ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहिनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढेको उल्लेख गर्नुभयो । उनका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा–व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म देशमा लगानी हुँदैन ।

उनले भने, ‘पछिल्लो डेढ वर्षदेखि सरकार झन्डै डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरू झन्डै ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला रु स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला? सरकारले वर्षको ३ हजारदेखि ३ हजार ५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र सङ्कुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरू विदेशिन बाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा नेपाली युवाहरूले काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने? समस्या एउटै छ, यहाँ निजी क्षेत्रले काम गर्न पाएको छैन । नीतिगत अवरोधहरू छन् । प्रक्रियाहरू झन्झटिला छन् । व्यवसायीमैत्री वातावरण बन्न सकेको छैन । सर्वसाधारणमा समेत निजी क्षेत्रप्रति नकारात्मक भावना छ । पछिल्लो समयको आगजनी र तोडफोडले थप निराश बनाएको छ । त्यसैले नेपाल उद्योग वाणिज्य महासङ्घले शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल आवश्यक भएको महसुस गर्‍यो । अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको सरकारको दृष्टिकोण जान्न खोजेका छौँ ।’

अध्यक्ष ढकालले आफूहरूले राजनीति प्रतिबद्धता चाहेको बताए । राजनीतिक स्थायित्वका लागि चुनाव गरेर लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले निर्धारित समयमै चुनाव होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गर्नुभयो । उनका अनुसार यो वा त्यो बहानामा आउँदा दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीँ कतैबाट सिर्जना हुनुहुँदैन ।

Leave A Reply

Your email address will not be published.