सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पारस’ को शीर्ष भूमिकामा निखिल उप्रेती

काठमाडौं :

निर्देशक कृषा चौलागाईं यतिबेला आफ्नो आगामी फिल्म ‘पारस’ को निर्माण तयारीमा जुटेकी छन्। भक्तपुरको सानोठिमीस्थित उनकी फिल्म कम्पनी केपी फिल्म्स को कार्यालयमा फिल्मको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

यसैबीच फिल्मको कास्टिङसम्बन्धी महत्वपूर्ण जानकारी सार्वजनिक भएको छ। फिल्मको शीर्ष भूमिकामा अभिनेता निखिल उप्रेती रहने भएका छन्। निर्माणपक्षका अनुसार निखिल उप्रेतीको सहभागिता मौखिक सहमतिमा टुंगिएको छ भने औपचारिक सम्झौता प्रक्रिया बाँकी रहेको छ।

हाल निखिल उप्रेती आफ्नै ब्यानरको फिल्म ‘आचार्य’ को निर्देशनमा व्यस्त छन् । उक्त फिल्म छायांकनको अन्तिम चरणमा रहेको छ । यसको काम सम्पन्न भएपछि मात्र उनी फिल्म ‘पारस’ मा संलग्न हुने बताइएको छ। निर्माणपक्षका अनुसार फिल्मको छायांकन चाँडै सुरु गर्ने तयारी छ।

प्रेमकथामा आधारित रहने फिल्म ‘पारस’ को पटकथा भारतीय पटकथाकार सचिन लादिया ले लेखेका हुन्।  निर्देशक कृषा चौलागाईंको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो भने उनको पछिल्लो फिल्म ‘पिताम्बर’ रहेको छ। फिल्म ‘पारस’ का अन्य कलाकार तथा प्राविधिक पक्षबारे विवरण निर्माणपक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.