काठमाडौं :
यही शुक्रबार २ माघदेखि सोमबार ५ माघसम्म चार दिनसम्म १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२६’ आयोजना हुने भएको छ। यसपटक महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म चयन भएका छन्।
फिल्म विकास बोर्ड, चावहिल, काठमाडौंमा आयोजना हुने महोत्सवमा नेपाली समूहबाट करिब चार दर्जन फिल्म, वृत्तचित्र तथा लघु फिल्मबाट २० वटा चयन गरिएको महोत्सव निर्देशक डब्बु क्षत्रीले जानकारी दिए।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन, विलक्षण क्रियसन प्रा.लि.को आयोजना र फिल्म विकास बोर्डको सहकार्यमा महोत्सव आयोजना हुँदैछ। महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यस पटक फिल्म प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लास पनि सञ्चालन गरिनेछ।
नेपाली कथानक फिल्म तर्फ १३ वटा फिल्मबाट पाँच फिल्म फाइनलमा चयन भएका छन्। जसमा ओस्कारमा जाने सफलता पाएको मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुँगा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपक प्रसाद आचार्य निर्देशित यस वर्षकै सर्वाधिक सफल ‘परान’ र नर प्रधान (मित्र) निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छन्।
वृत्तचित्रतर्फ भिम लाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन्। लघु फिल्मतर्फ खुला र विद्यार्थी समूह गरेर १० वटा फिल्म प्रदर्शन गरिनेछ। विद्यार्थी समूहमा विनोद पाण्डे निर्देशित ‘अ कलरफुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्त वार्ता’, समीर राई निर्देशित ‘पेज फाईव’ र अश्विनी थापाको ‘इकोज अफ होप’ रहेका छन्।
खुला लघु फिल्ममा सौगात विष्ट निर्देशित ‘भुवा’, रुशिल अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, गोविन्द प्रसाद ढकाल निर्देशित ‘साईलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ छन्। आदिवासी समूहमा सागर केरुङ निर्देशित ‘तान्सिङ’, दिलिप फुरुम्बो निर्देशित ‘नाम ओती’ र सेमक्वा गरी तीन फिल्म प्रतिस्पर्धामा छन्।
नेपाल बाहेक अफ्रिकी र अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ वटा लामा–छोटा फिल्महरू चयन भएका छन्। यस वर्ष अन्तर्राष्ट्रिय तर्फ ४० भन्दा बढी मुलुकका करिब ९० वटा फिल्म आवेदनमा परेकोमा लघु फिल्म प्रतिस्पर्धामा १५ वटा, तीन वृत्तचित्र, दुई कथानक फिल्म र तीन अफ्रिकन फिल्म चयन भएका छन्।
उल्लेखनीय फिल्महरूमा इन्डोनेसियाबाट ‘इक्लिप्से’, ताइवानबाट ‘द इल्डर क्र्याब’, टर्कीबाट ‘आई एम नट वर्क एनिमोर’, सर्भियाबाट ‘कास्ट’, संयुक्त राज्य अमेरिकाबाट ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’, बंगलादेशबाट ‘नो डाइस’ र ‘लेटर अफ द फलेन लभर्स’, इरानबाट ‘भोयउर’ र ‘द रोप’, फ्रान्सबाट ‘अगस्ट १७ एट फाइभ पी एम’, श्रीलङ्का बाट ‘सायाम’, अस्ट्रिया बाट ‘रेभेनान्ड’, भारतबाट ‘ब्ल्यु’, हङकङबाट ‘पेपर रिङ’ रहेका छन्।
अन्तर्राष्ट्रिय कथानक फिल्ममा बंगलादेशबाट ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोष्ट डी आईभोरीबाट ‘साईलेन्स मोर्टेल’, वृत्तचित्रमा युक्रेनबाट ‘द स्केडुलेड अफ फाइटिङ टु लर्न’, स्टोनियाबाट ‘अटिस्ट अफ सर्भिलय’ र जर्मनीबाट ‘गर्ल्स डन्ट प्ले स्पोर्टस्’ चयन भएका छन्। अफ्रिकन फिल्ममा इजिप्टबाट ‘द मंकी’, ट्युनेशियाबाट ‘मेट्रो पोलिस’ र मोरक्कोबाट ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन्।
महोत्सवमा ३० जनालाई नृत्य प्रशिक्षण प्रदान गरिनेछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र फिल्म विकास बोर्डको सहकार्यमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी समेत आयोजना गरिनेछ। यस वर्ष महोत्सवमा विभिन्न देशका १० जना विदेशी फिल्मकर्मी पनि सहभागी हुनेछन्।
डब्बु क्षत्रीका अनुसार, पछिल्लो वर्षदेखि नेपाल अफ्रिका फिल्म महोत्सवलाई विश्वका फिल्म समेट्ने उद्देश्यसहित ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ नामांकन गरिएको हो।