काठमाडौँ,
प्रधानमन्त्री सुशिला कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताएकी छिन ।
“मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो”, उनले भनिन, “भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन । युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ । तपाईंहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउनुहोस् ।”
प्रधानमन्त्री कार्कीले पुरानो मानसिकता, सोच र शैलीले अब देश नचल्ने भन्दै युवाको भावनाअनुसार शासन सञ्चालन गर्न युवा र इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभएको प्रेस सल्लाहकार रावलले बताए
प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन हुन नदिन अब समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखिन । “भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसविरुद्ध चुनावबाटै पहल हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ । अब विगतमा जस्तो चुनावमा हुने गलत अभ्यास र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ”, प्रधानमन्त्रीको भनाइ थियो ।