काठमाडौं :
राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरूबीचको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता मिस लिटिल नेवाः ११४५ को उपाधि ललितपुरकी सुरवी बज्राचार्यले जितेकी छन्।
नेप्लिज फेसन होमको आयोजनामा तथा फाइट फर लाइफको सहआयोजनामा सम्पन्न प्रतियोगितामा बज्राचार्यले १९ प्रतिस्पर्धीलाई पछि पार्दै १५औँ मिस लिटिल नेवाः को ताज चुमेकी हुन् । उपाधिसँगै उनले चम्किलो ताजसहित नगद २५ हजार रुपैयाँ तथा विभिन्न पुरस्कार प्राप्त गरिन्।
काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप घोषित भइन्। उनले मिस ट्यालेन्ट उपउपाधि पनि हात पारिन् । त्यसैगरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड रनर्सअप भइन् । उपविजेता र सहविजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित ताज तथा उपहार प्राप्त गरेका छन् ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका उपउपाधि पनि प्रदान गरियो । अर्शिया महर्जन मिस ट्यालेन्ट फस्ट रनर्सअप, प्रिन्सिका शाही मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, लिडिया महर्जन बेस्ट नेपालभाषा, रोज्लिन शाक्य बेस्ट ड्रेस, देजला शाक्य सोशल वेलफेयर एम्बासडर चिफ घोषित भइन्। सहिना शाक्य सोशल वेलफेयर एम्बासडर फस्ट रनर्सअप र बिदिशा महर्जन सेकेण्ड रनर्सअप बनिन्।
त्यस्तै आन्या महर्जन मिस डिसिप्लिन, सचिका महर्जन मिस पब्लिक च्वाइस, श्रीषा श्रेष्ठ मिस कल्चर, आरग्या महर्जन मिस कन्फिडेन्ट तथा बेस्ट स्किन, क्रिस्टिना खड्गी मिस पर्सनालिटी र मिस फ्रेन्डसिप, सफू बज्राचार्य मिस इनोसेन्ट तथा मिस फोटोजेनिक, निभा डंगोल बेस्ट हेयर तथा मिस क्युट, संस्था मानन्धर बेस्ट स्माइल र श्रेया बलामी मिस चार्मिङ घोषित भए।
लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रिक्ट गभर्नर मनिश्रीरत्न बज्राचार्य मुख्य निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, जिवेश्वरलाल श्रेष्ठ, राजु नापित र शान्तमान महर्जन निर्णायकको रूपमा सहभागी थिए।
आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा बालिकाहरूमा आत्मविश्वास र पहिचान विकास गर्ने उद्देश्यले विगत १५ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।
डा. किशोरराज प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा आरडी फाउण्डेशनका अध्यक्ष देवकाजी डंगोल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्व मिस लिटिल नेवाः ११४१ तथा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङमार्फत नेपाललाई चिनाएकी खेलाडी नयाना शाक्यलाई सम्मान गरिएको थियो।