सुचना, समाचार र मनोरन्जन

नेपथ्य पहिलोपटक सिलिगुडीमा गुञ्जिने, फेब्रुअरी २८ मा लाइभ कन्सर्ट

काठमाडौं :

नेपाली सांगीतिक व्याण्ड नेपथ्य पहिलोपटक भारतको सिलिगुडीमा प्रस्तुत हुने भएको छ। भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कको आयोजनामा आगामी फेब्रुअरी २८ मा ‘नेपथ्य लाइभ सिलिगुडी’ कन्सर्ट आयोजना हुन लागेको हो।

कन्सर्ट सिलिगुडीस्थित उत्सोधारा टिष्टा टाउनशिप अन्तर्गत कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा आयोजना हुनेछ। उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत, हिमाली क्षेत्र तथा नेपाली संगीतप्रेमीहरूबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ।

पीभीई नेटवर्कले सिलिगुडी क्षेत्रमा आयोजना गर्न लागेको यो दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो। पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्यलाई ल्याउनु संस्थाको विश्वास र प्रतिबद्धताको प्रतिविम्ब भएको बताए।

“यस क्षेत्रका दर्शकले ठूला कन्सर्टको प्रत्यक्ष अनुभव लिन पाउनुपर्छ । हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नु र नेपथ्यको सांगीतिक–सांस्कृतिक धरोहरलाई सम्मान गर्नु हो,” उनले भने ।

आयोजकका अनुसार कन्सर्टमा नेपाल र भुटानबाट दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने भारतका मुम्बई, बेंगलुरु, नयाँ दिल्ली तथा पूर्वोत्तर क्षेत्रबाट समेत उल्लेख्य चासो देखिएको छ।नेपथ्य कन्सर्टका लागि अर्ली बर्ड टिकटहरू अनलाइनमार्फत बिक्री भइसकेका छन् । हाल सीमित टिकट मात्र बाँकी रहेको आयोजकले जनाएको छ। नेपालमा भने खल्ती बाइ आइएमई टिकेटिङ पार्टनरका रूपमा टिकट उपलब्ध गराइएको छ।

तीन दशकअघि स्थापना भएको नेपथ्य दक्षिण एसियाकै प्रभावशाली व्याण्डमध्ये एक हो। सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित नेपथ्यका गीतहरू यसअघि नै उत्तर बंगाल, सिक्किम, नेपाल तथा छिमेकी क्षेत्रहरूमा लोकप्रिय रहँदै आएका छन्। यो कन्सर्ट सिलिगुडी इतिहासकै दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हुने आयोजकको दाबी छ। यसअघि यस्तै स्तरको कन्सर्ट गायक अरिजित सिंहले गरेका थिए।

यसअघि पीभीई नेटवर्कको प्रोपाइटरी आईपी कन्सर्ट ‘लेट्स गेट लाउड–इन्डिया सिरिज’ अन्तर्गत गायक सज्जन राज वैद्यलाई प्रस्तुत गरिएको थियो । उक्त सिरिज गत वर्ष नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा आयोजना हुँदा १२ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

नेपथ्यले यसअघि नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान र अमेरिकामा सयौं कन्सर्ट गरिसकेको छ। पीभीई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ। संस्थाले हालसम्म ४० भन्दा बढी शहरमा ३०० भन्दा बढी इभेन्ट आयोजना गर्नुका साथै ५० भन्दा बढी नेपाली कलाकारसँग सहकार्य गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.