सुचना, समाचार र मनोरन्जन

बल्छी धुर्बेको डेब्यू फिल्मले करोडभन्दा बढी कमाइ, विदेश प्रदर्शन तयारी

काठमाडौं :

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यू फिल्म ‘गोबरगणेश’ ले व्यवसायिक सफलता हात पारेको छ। फिल्मले दोस्रो सप्ताहन्तसम्म १ करोड १५ लाख भन्दा बढी कमाइ गरिसकेको छ।

ठूला स्टार र ब्यानरका फिल्मले पनि १ करोड कमाउन नसकिरहेको बेला, टिभी श्रृंखलामा लोकप्रिय बल्छी धुर्बेको पहिलो फिल्मले करोडभन्दा बढी कमाएकोले सिने प्रेमीमा उत्साह थपिएको छ। बल्छी धुर्बे आफैँ निर्देशन र अभिनय गरेको फिल्मले राम्रो ‘वर्ड अफ माउथ’ पाएको छ।

‘गोबर गणेश’ को मुख्य भूमिकामा बल्छी धुर्वे स्वयं छन् भने साथमा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, माओत्से गुरूङ, सीतादेवी तिमल्सिनालगायत कलाकारहरूको अभिनय छ।

सफलता पाइसकेपछि बल्छी धुर्बे अब यो फिल्मलाई लिएर विदेश प्रदर्शनमा जाने तयारीमा छन्। उनी अमेरिका, अस्ट्रेलिया, बेलायत र मध्यपूर्वमा आफैँ उपस्थित भएर डायस्पोराका दर्शकसँग फिल्म देखाउने योजना बनाइरहेका छन्।

बल्छी धुर्बेका अनुसार,“अहिलेसम्म ती मुलुकमा फिल्मको वितरण अधिकार कुनै व्यक्तिलाई वा कम्पनीलाई बिक्री गरिएको छैन। म आफ्नै सम्पर्कको माध्यमबाट फिल्म प्रदर्शन गर्ने योजना बनाउँदैछु।”

यससँगै बल्छी धुर्बे आफ्ना दुई चर्चित टिभी श्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ लाई समेत छायांकनमा लैजाने तयारीमा छन्। आउँदो सातादेखि यी श्रृंखलालाई निरन्तरता दिने योजना रहेको छ।

Leave A Reply

Your email address will not be published.