काठमाडौं :
यहीँ माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को प्रचारप्रसार व्यापक बनाउन थालिएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ट्रेलर सार्वजनिक गरेको यो टिमले पूर्वी नेपालमा ठुलै कन्सर्ट गरेको छ।
फिल्मको प्रचार प्रसारका लागि निर्माण टिमले मोरङ्गको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’गरेको हो। मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा २ हजार दर्शककाबीच उक्त कन्सर्ट आयोजना गरिएको हो। यसै फिल्ममा समावेश तथा पछिल्लो समय चर्चामा रहेको गीत ‘डोको बुन्नु निगाले चोयाले’दर्शकलाई झुमायो।
उक्त गीतमा फिल्ममा मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले नाचेर रमाइलो गराए। यसै फिल्मका पार्श्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’,‘तिमी बिना’,‘कता छौ’लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई नचाए। निर्माण पक्षका अनुसार दर्शकहरुलदे चिसो मौसमका बाबजुद पनि दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको यस फिल्ममा प्रेम, सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई चित्रण गरिएको छ। अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ,आकाङ्क्षा कार्की लगायतका कलाकारले अभिनय गरेका छन्। विकास सुवेदीको लेखन,सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको यस फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्।