काठमाडौं :
आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ ले आफ्नो प्रचार अभियानअन्तर्गत नयाँ गीत सार्वजनिक गरेको छ। सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘ए साइला दाई’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र युक्ती बिमलीको स्वर समावेश छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य प्रस्तुत गरिएको छ।
निर्माण टिमका अनुसार गीतलाई सिनेमाको पारिवारिक कथावस्तुसँग जोडेर तयार गरिएको हो। गीत रिलिजसँगै सिनेमाको प्रचारलाई थप गति दिने उद्देश्य राखिएको जनाइएको छ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको ‘श्री बुकुरोः द होम कलिङ’ फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। सिनेमा फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो, जसका निर्माता रुबी सेन सिंह हुन्।
सिनेमाका अन्य गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ। फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, आईड्रिम एनिमेसनको भिएफएक्स, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ।