काठमाडौं :
‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश : च्याप्टर १’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। महाशिवरात्रिको अवसर पारेर रिलिज गरिएको यस फिल्मको अग्रिम टिकट बुकिङ भने हिजोबाटै खुला गरिएको थियो।
धर्मको आवरणभित्र लुकेको अपराध र आध्यात्मिक शक्तिको होडबाजी मुख्य कथावस्तु रहेको फिल्ममा जटाधारी अघोरी पात्रका रूपमा प्रवीण खतिवडा प्रस्तुत भएका छन्। बाह्य रूपमा आध्यात्मिक देखिने तर भित्रभित्रै आपराधिक गतिविधिमा संलग्न पात्रको द्वैध चरित्र नै फिल्मको मुख्य आकर्षण बनेको छ।
कथा हिन्दु पौराणिक प्रसंग ‘समुद्र मन्थन’सँग जोडिएको छ। समुद्र मन्थनका क्रममा उछिट्टिएको शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा फिल्मको संघर्ष अघि बढ्छ। उक्त शिला प्राप्त गर्न पात्रहरूबीच हुने प्रतिस्पर्धा, त्यसले जन्माउने द्वन्द्व र रहस्यपूर्ण घटनाक्रमले कथालाई अगाडि बढाउँछ। प्रवीणसँगै तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा र टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ।
अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन्। कथा अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ।
संगीततर्फ न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा आजदेखि नियमित प्रदर्शन सुरु भएको छ। उपलब्ध तथ्यांकअनुसार पहिलो दिनका लागि फिल्मले देशभर ९७ शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन QFX Cinemasले आफ्ना विभिन्न आउटलेटमा १३ शो दिएको छ। प्रारम्भिक शो बाँडफाँट मध्यम देखिए पनि निर्माणपक्षले आध्यात्मिक–एक्सन कथाले दर्शक तान्ने विश्वास व्यक्त गरेको छ।