काठमाडौं :
यो वर्षको दसैंमा प्रदर्शनमा आएका ‘आ बाट आमा २’,‘१२ गाउँ २’,‘छ माया छपक्कै २’को तुलनामा ‘कबड्डी ५’ को व्यापार अगाडि देखिएको छ। सोबार चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा यो फिल्मले १० दिनमा साढे १० करोडमाथीको व्यापार गरेको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
साथै यो फिल्म हेर्ने दर्शक १५ कात्तिकसम्म ३ लाख ४६ हजार ४२७ जना रहेका छन्। राम बाबु गुरुङको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई,विजय बराल,सिर्जना गुरुङ,मिरुना मगर,बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। यो फिल्म यही कात्तिक ६ गते रिलिज भएको फिल्मले प्रदर्शनमा आएको हो।
असोज ३० गतेबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘आ बाट आमा २’ले हिजो आइतबारसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ। चन्द्र पन्तको निर्देशकिय यो फिल्मलाई २ लाख १३ हजार १९४ दर्शकले हेरेका छन्। यस फिल्ममा विपना थापा,पल शाह,मलिका महत लगायतका कलाकारले अभिनय गरेका छन्।

दसैंको फुलपाती अर्थात असोज ३१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पछिल्लो समय यो फिल्मको दर्शक बढेका हुन। दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको यस फिल्ममा दीपकराज गिरी,दीपाश्री निरौला,सनिशा भट्टराई,केकी अधिकारी लगायतको मुख्य भुमिका रहेको छ। साथै यो फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन्।
कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’को व्यापार अरुको तुलनामा कमजोर देखिएको छ। अहिलेसम्म यो फिल्म ७४ हजार ८०३ वटा टिकट बिक्री भएको छ। उक्त टिकटबाट यस फिल्मले २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ। यसअघि यसको पहिलो श्रृंखलाले २० करोड नजिकको व्यापार गरेको थियो। यस फिल्ममा निर्देशक आफैले अभिनय गरेका छन्। विराजका अलवा समिर भट्ट,कृशु शाही,अनुप विक्रम शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ अझै हलमा चलिरहेको छ। यो फिल्मले अहिलेसम्म २६ करोड ७ लाखमाथीको व्यापार गरिरहेको छ। ‘गौँथली’को टिकट बिक्री ९ लाख ४६ हजार ८३४ पुगेको छ। यस टिकटबाट यस फिल्मको कुल व्यापार २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस कलेक्सन छ। कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा सिम्रन खड्का,अरुण क्षेत्री,प्रकाश घिमिरे लगायतको अभिनय छ।
यता गत भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले अझै व्यापार गरिरहेको छ। यस फिल्मले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको छ। हरि लम्सालको निर्देशनमा निर्माण भएको यस फिल्ममा दिव्यदेप पन्त,सुहाना थापा,झरना थापा लगायतको अभिनय रहेको छ।