काठमाडौं :
अभिनेत्री बेनिशा हमाल अब फिल्म नभई नाटकमा देखिने भएकी छन्। चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित मञ्चन हुन लागेको नाटकमा उनले ‘तारा’को भूमिकामा अभिनय गर्नेछिन्।
अष्ट्रेलियाबाट फर्किएकी बेनिशालाई शनिबार कान्तिपुर फिल्म एकेडेमीले नाटकमा अनुबन्ध गरेको छ। अबको दुई महिना उनी नाटकको लागि समय दिनेछिन् र यसबीच कुनै फिल्म छायांकनमा सहभागी नहुने बताइएको छ। अनुबन्धपछि उनी स्क्रिप्ट अध्ययन र पात्रको तयारीका लागि टिमसँग वर्कसपमा बसिसकेकी छन्।
कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीइओ प्रकाश पुरीका अनुसार लेखक अमर न्यौपानेबाट अधिकार लिएर नाटक मञ्चन गर्न लागिएको हो। नाटकको मञ्चन मितिसहित जानकारी चैत १३ गते रंगमञ्च दिवसमा सार्वजनिक गरिनेछ।