सुचना, समाचार र मनोरन्जन

‘कोर्ट म्यारिज’मा आकर्षण बढ्दो

पछिल्लो समय अदालतमा दर्ता गरेर गरिने विवाह अर्थात कोर्ट म्यारिजप्रति आकर्षण बढ्दै गएको छ । बढ्दो शहरीकरण, वैदेशिक रोजगारी, व्यस्त जीवनशैली तथा बदलिँदो सामाजिक सोचका कारण यसप्रति आकर्षण बढ्दै गएको हो ।

बालविवाह, बहुविवाह तथा दाइजो प्रथाजस्ता कुप्रथालाई न्यूनीकरण गर्ने प्रभावकारी माध्यमका रूपमा दर्ता विवाहलाई समाजले सकारात्मक रूपमा लिन थालेको देखिन्छ । काठमाण्डौ जिल्ला अदालतका अनुसार गएको फागुनमा एकैदिन अधिकतम २७ जोडीले दर्ता विवाह गरेका थिए भने सामान्य दिनमा दैनिक झण्डै १० वटासम्म यस्ता विवाह हुने गरेका छन् ।

चालु आर्थिक वर्षको चैत ११ गतेसम्म एक हजार ७५५ वटा दर्ता विवाह सम्पन्न भइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा २ हजार ८४३ निवेदन परेका थिए । परम्परागत रूपमा विवाहका लागि अनुपयुक्त मानिने साउन, कात्तिक, पुसजस्ता महिनामा पनि उल्लेख्य संख्यामा दर्ता विवाह भएको अभिलेखले देखाउँछ । यसले परम्परागत सोचभन्दा व्यावहारिकता र सहजतालाई प्राथमिकता दिने प्रवृत्ति बढेको संकेत गर्दछ ।

समाजशास्त्री टीकाराम गौतमका अनुसार दर्ता विवाह आधुनिक समाजको विशेषता र सामाजिक रूपान्तरणको सूचक हो । बदलिँदो सामाजिक संरचना, शिक्षा र रोजगारीका कारण विवाहसम्बन्धी परम्परागत अभ्यासमा परिवर्तन आउँदा यसको प्रभाव दर्ता विवाहको बढ्दो संख्यामा देखिएको उहाँ बताउनुहुन्छ।

वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै कानुनी रूपमा छिटो, सरल र आधिकारिक विवाह गर्ने प्रवृत्ति पनि बढेको हो । दर्ता विवाहबाट प्राप्त कागजात विदेश जाने प्रक्रियामा समेत उपयोगी हुने भएकाले यसको महत्त्व अझ बढेको छ । दर्ता विवाहका लागि आवश्यक कागजात पूरा गरेमा अदालतले ५०० रुपैयाँ शुल्कमा सेवा प्रदान गर्दै आएको छ ।

कानुनले सात दिनको समय तोके पनि काठमाडौँ जिल्ला अदालतले ‘फास्ट ट्र्याक’ सेवा अन्तर्गत दुई घण्टाभित्रै प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ ।

Leave A Reply

Your email address will not be published.