चन्द्रमालाई केन्द्रमा राख्दै चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो दीर्घकालीन रणनीति तीव्र बनाएको छ, जसले विश्व शक्ति सन्तुलनमै प्रभाव पार्ने सङ्केत देखिएको छ। सन् २०३० भित्र मानवलाई चन्द्रमामा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको चीनले त्यसपछि चन्द्र आधार निर्माण र अन्ततः मङ्गल ग्रहसम्म पुग्ने महत्त्वाकांक्षा सार्वजनिक गरेको छ, जसले अमेरिकाको परम्परागत वर्चस्वलाई चुनौती दिने अवस्था सिर्जना गरिरहेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा आफ्नो आर्टेमिस–२ मानवयुक्त चन्द्र अभियानको तयारीमा जुटिरहेका बेला चीनले भने आफ्नो दीर्घकालीन योजनाअनुसार स्थिर रूपमा कार्यक्रम अगाडि बढाइरहेको छ। सन् १९९२ सेप्टेम्बर २१ मा सुरु गरिएको चीनको चालक दल अन्तरिक्ष कार्यक्रम ‘प्रोजेक्ट ९२१’ अहिले परिपक्व चरणमा पुगेको मानिन्छ। सन् २००३ मा अन्तरिक्ष यात्री याङ लिवेइले पहिलो उडान गरेपछि चीनले करिब १५ वटा मानवयुक्त मिशन सफलतापूर्वक सञ्चालन गरिसकेको छ।
सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएपछि चीनले आफ्नै ‘टियाङ्गोङ’ अन्तरिक्ष स्टेशन निर्माण गर्यो, जसले २०२१ देखि अन्तरिक्ष यात्रीहरूलाई बसोबास गराउँदै आएको छ। हाल तीन जना चिनियाँ अन्तरिक्ष यात्री उक्त स्टेशनमा रहेका छन्। यस प्लेटफर्ममार्फत चीनले स्पेसवाक, डकिङ, मर्मतसम्भार तथा मानव शरीरमा अन्तरिक्षको प्रभावबारे व्यापक अनुभव सङ्कलन गरिरहेको छ। उल्लेखनीय कुरा के छ भने, चीनको कुनै पनि मानवयुक्त प्रक्षेपण अहिलेसम्म दुर्घटनाग्रस्त भएको छैन।
विशेषज्ञहरूका अनुसार चीनको अन्तरिक्ष कार्यक्रमको मुख्य शक्ति यसको स्थिर नीति र दीर्घकालीन योजना हो। अस्ट्रेलियाको म्याक्वेरी विश्वविद्यालयका प्राध्यापक रिचर्ड डे ग्रिजका अनुसार उच्च राजनीतिक प्रतिबद्धता, निरन्तर लगानी र औद्योगिक संरचनाको एकीकृत विकासले चीनलाई निरन्तर प्रगति गर्न सहयोग गरेको छ। उनले पश्चिमी देशहरूमा जस्तो राजनीतिक चक्रसँगै प्राथमिकता परिवर्तन नहुने भएकाले चीनको मोडेल बढी पूर्वानुमानयोग्य र जोखिम व्यवस्थापनका हिसाबले प्रभावकारी रहेको उल्लेख गरे।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि सारेको छ। यसका लागि आवश्यक प्रविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्। सन् २०२६ मा ‘मेङ्झाउ’ नामक नयाँ अन्तरिक्ष यान परीक्षण उडानका लागि तयार पारिँदैछ, जसले पुरानो ‘शेन्झाउ’ लाई प्रतिस्थापन गर्नेछ। त्यस्तै, ‘लङ मार्च–१०’ नामक शक्तिशाली रकेट विकासको अन्तिम चरणमा पुगेको छ, जसले अन्तरिक्ष यानलाई चन्द्र कक्षामा पुर्याउनेछ। चन्द्र सतहमा अवतरणका लागि ‘लान्यु’ ल्यान्डर सन् २०२८–२०२९ बीच परीक्षण हुने अपेक्षा गरिएको छ।
चीनको लक्ष्य केवल अवतरणमा सीमित छैन। उसले सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै ‘अन्तर्राष्ट्रिय लुनार रिसर्च स्टेशन’ स्थापना गर्ने योजना बनाएको छ। उक्त क्षेत्रमा पानीको सम्भावना भएकाले वैज्ञानिक तथा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ। यो परियोजनामा रूससँग सहकार्य भइरहेको छ। चन्द्रमाको माटोबाट थ्रीडी प्रिन्टर प्रयोग गरी इँटा निर्माण गरेर आधार बनाउने प्रविधि परीक्षणकै चरणमा छ, जसलाई ‘चाङ–८’ मिशनमार्फत चन्द्रमामा प्रयोग गर्ने तयारी छ।
चीनले चन्द्रमाको टाढाको भागसँग पृथ्वीको सञ्चार सहज बनाउन रिले उपग्रहहरूको नेटवर्क पनि विकास गरिरहेको छ। यसले भविष्यका दीर्घकालीन मिशनहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ।
यद्यपि चीनले यसलाई औपचारिक रूपमा अमेरिकासँगको प्रतिस्पर्धा मान्दैन। खगोलशास्त्री जोनाथन म्याकडवेलका अनुसार चीनका लागि चन्द्रमा कुनै प्रतिस्पर्धाको प्रतीक नभई स्वाभाविक प्रगतिको अर्को चरण हो। तर उहाँले चन्द्र आधार स्थापना भएमा सीमित उपयुक्त स्थानका कारण अमेरिकाका लागि चुनौती उत्पन्न हुने बताए।
हालका लागि चीन अझै मानव अन्तरिक्ष उडान प्रविधिमा अमेरिकाभन्दा केही पछि रहेको विश्लेषकहरू बताउँछन्। अन्तरिक्ष विशेषज्ञ चेन लानका अनुसार नासाका ‘ड्र्यागन’ र ‘ओरियन’ यानहरू चीनका ‘शेन्झाउ’ भन्दा उन्नत छन्। तर सन् २०३० सम्ममा नयाँ प्रविधिसहित मानव चन्द्र अवतरण सफल भएमा चीनले यो अन्तर घटाउने अपेक्षा गरिएको छ।
दीर्घकालीन रूपमा चीनको नजर मङ्गल ग्रहमा केन्द्रित छ। सन् २०४० पछि चन्द्र आधारलाई मङ्गल अभियानका लागि परीक्षणस्थलका रूपमा प्रयोग गर्ने योजना छ। वैज्ञानिकहरूले मङ्गललाई भविष्यको मानव गन्तव्यका रूपमा हेरिरहेका छन्, तर प्रारम्भिक चन्द्र परियोजनाहरू सफल नभएसम्म त्यतातर्फ ठोस कदम चालिने सम्भावना कम रहेको विश्लेषण गरिएको छ।