सुचना, समाचार र मनोरन्जन

घोडाबाट खसेर विजय बराल घाइते, ‘सिन्दुरे जात्रा’को छायांकन पूर्ण रूपमा रोकियो

काठमाडौं :

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो।

यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो। करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन्।

निर्माण टिमका अनुसार उनको दाहिने हात फ्याक्चर भएको छ । तत्कालै कुस्मा लगी थप उपचारका लागि पोखरा पुर्‍याइएका बरालको दाहिने हातको नाडीमा जोर्नी हडिड्मा ‘फ्याक्चर’ देखिएपछि पलास्टर गरिएको टिमले जनाएको छ।

मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ। निर्देशक सरोज पौडेलका अनुसार चलचित्रको कुल ३५ दिनको छायांकन सेड्युल तय गरिएको थियो । तर, यो अप्रत्यासित दुर्घटनापछि कलाकारसहितको टोली काठमाडौं फर्किएको छ ।

निर्देशक पौडेलले भने, ‘विजयजीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। चिकित्सकको सल्लाहअनुसार उहाँलाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आरामको आवश्यकता छ । त्यसैले बाँकी छायांकन अब आगामी असार १५ गतेपछि मात्र सुरु हुनेछ ।’

अभिनेता विजय बरालले भने,‘काम गर्ने क्रममा अचानक दुर्घटना हुन पुग्यो । यसले गर्दा टिमको सेड्युल केही समयका लागि प्रभावित भएको छ । अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’

उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि सामान्य हेरफेर हुन सक्ने संकेत गरे।‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। आरआर फिल्मसले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.