काठमाडौंँ :
भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारलाई तीव्रता दिएको हो।
कुमार गजुरेल निर्देशित फिल्मको प्रचारकै क्रममा सिनेमाका पोस्टर, टिजर,गीत र ट्रेलर क्रमशः सार्वजनिक भइसकेका छन्। सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ उत्सुकता बढाउनुका साथै फिल्मका कलाकार र उनीहरूको भूमिकालाई समेत दर्शकले मन पराइरहेका छन्। अभिनेत्री निरुता सिंह यतिबेला विरामी छन्। चिसोको कारण उनको स्वास्थ्यमा समस्या आएको हो। तर पनि उनीहरु भोलीबाट हलमा दर्शक भेट्न जाने तयारीमा जुटेका छन्। हिजो पत्रकारसँगको कुराकानीमा आफूहरु हलमा दर्शक भेट्न आतुर रहेको सुनाएका थिए।
यसैबीच, प्रदर्शनको संघारमा निर्माण टिमले फिल्मको शीर्ष गीत सार्वजनिक गरेको छ। गायक बाबुल गिरीको स्वर रहेको यस गीतमा निर्देशक कुमार गजुरेल र बाबुल गिरीकै शब्द रहेको छ। गीतमा संगीत पनि बाबुलले नै भरेका छन्। मार्मिक भाव बोकेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी फिचर्ड छन्। भिडियोमार्फत सिनेमाको कथावस्तु र पात्रहरूको भावनात्मक सम्बन्धलाई झल्काउने प्रयास गरिएको छ।
गीत सार्वजनिक भएसँगै देशभरका प्रमुख मल्टिप्लेक्स हलमा सिनेमाको बुकिङसमेत खुलाइएको छ। प्रारम्भिक चरणमै ‘सारथी’ले ५० भन्दा बढी शो प्राप्त गरेको छ। देशका प्रमुख मल्टिप्लेक्स क्यूएफएक्स,आईएनआई सिनेमाज,वान सिनेमाज, बिग मुभिजलगायतका हलमा सिनेमाको बुकिङ खुलाइएको हो। प्रारम्भिक चरणमै ‘सारथी’ले ५० भन्दा बढी शो प्राप्त गरेको छ। सुरुवाती चरणमै पाएको शो संख्याले निर्माण टिममा उत्साह थपेको छ।

यसअघि सार्वजनिक फिल्मको टिजर, ट्रेलर र अन्य प्रचार सामग्रीले पनि दर्शकमाझ उत्सुकता बढाइरहेको छ। विशेषगरी नवकलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको अभिनय तथा पर्दामा उनीहरूको प्रस्तुतिले दर्शकको ध्यान खिचिरहेको छ। त्यस्तै, लामो समयपछि लोकप्रिय ‘दर्पणछाया’ जोडी निरुता सिंह र उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाउनु ‘सारथी’को अर्को प्रमुख आकर्षण बनेको छ।
कुनै समय दर्शकको मन जित्न सफल यो जोडीको पुनर्मिलनले पुराना नेपाली सिनेमाका दर्शकमा समेत विशेष उत्सुकता थपेको छ। म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जीवनकथालाई समेटेर निर्माण गरिएको ‘सारथी’ले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ। मौलिक परिवेश र मार्मिक कथावस्तु सिनेमाको मुख्य विशेषताका रूपमा रहेका छन्।
निर्देशक गजुरेलकै लेखन रहेको यस फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माताका रूपमा छन्।
बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको रहेको यस फिल्ममा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।