पोखरा,
लोप हुँदै गएको मौलिक कृषि परम्पराको संरक्षण र कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका-२९, लेखनाथस्थित नौविसे फाँटमा आगामी शनिबार दाइँ महोत्सव आयोजना हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा हुन लागेको महोत्सवले स्थानीय कृषि संस्कृति र उत्पादनलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्थानीय सभ्यता, संस्कृति र उत्पादनको संरक्षण तथा प्रवर्द्धनका लागि दाइँ महोत्सव आयोजना गर्न लागिएको बताए । उनले महोत्सवमा सहभागी हुन सम्पूर्णलाई आग्रहसमेत गरेका छन् ।

महोत्सवमा स्थानीय कृषि उत्पादनको बजारीकरण, कृषक सम्मान तथा परम्परागत कृषि गतिविधि समेटिने आयोजकले जनाएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार महोत्सवमा सहभागी हुन ५० जनाभन्दा बढी पर्यटकले नाम टिपाइसकेका छन् । कृषि विषय अध्ययन तथा अनुसन्धानका लागि नेपाल आएका विदेशी पर्यटकले पनि दाइँ महोत्सवप्रति चासो देखाउने गरेको उनले बताए ।
पोखरा महानगरपालिकाका आर्थिक शाखा प्रमुख मनोहर कडरियाले महोत्सवमा गुन्द्री बुन्ने, धान झाँट्ने र लठ्ठो तान्नेलगायतका परम्परागत तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना हुने जानकारी दिए ।
महोत्सवले स्थानीय कृषि संस्कृतिको उजागर गर्नुका साथै आसपासका कृषि जमिन संरक्षण गर्न र कृषकलाई कृषि पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
कृषिलाई पर्यटनसँग जोड्दै युवालाई कृषि पेसामा आकर्षित गर्ने र पोखरालाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।