पोखरा,
गण्डकी प्रदेशको पत्रकारितालाई अनुमान र भनाइबाट माथि उठाई तथ्य र प्रमाणमा आधारित बनाउने उद्देश्यका साथ सुरु भएको डेटा ड्रिभन जर्नालिज्म कोर्स-२०२६ को पहिलो चरणको आवासीय तालिम (बुटक्याम्प) शुक्रबार पोखरामा सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना र सेन्टर फर मिडिया रिसर्च-नेपालको प्राविधिक सहयोगमा सञ्चालित ६ दिने उक्त सघन तालिममा प्रदेशका ११ वटै जिल्लाका १८ जना क्रियाशील पत्रकार तथा ब्युरो प्रमुखहरूको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका सञ्चार मामिला हेर्ने सचिव कृष्णप्रसाद लम्सालले राज्यको चौथो अङ्गका रूपमा क्रियाशील सञ्चारकर्मीलाई तथ्याङ्क प्रशोधन र सूचनाको रूपान्तरण सम्बन्धी यो तालिमले व्यावसायिक लाभ मिल्ने बताए। “तपाईँहरूले आफू कार्यरत सञ्चार माध्यममा डेटामा आधारित समाचार खोजी, सम्पादन, प्रकाशन र प्रसारणा गरिदिने हो भने प्रदेश सरकारलाई नीतिगत रूपमा आफ्ना योजना र कार्यक्रम सुधार गर्न टेवा पुग्नेछ,” सचिव लम्सालले भने, “त्यसैले यसलाई हामीले खर्चको रूपमा होइन, राज्यको बौद्धिक लगानीको ऐनाका रूपमा हेरेका छौँ।”
कार्यक्रमकी सभाध्यक्ष एवं गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले यो तालिम पत्रकारितामा ‘क्रियात्मक रूपान्तरण’ को महाअभियान भएको बताइन। उनले भनिन, “आजसम्म हामी प्रेस विज्ञप्तिमा निर्भर रह्यौँ, तर अब भाषणभन्दा तथ्याङ्क बलियो हुन्छ। प्रेस रजिष्ट्रारको कार्यालयले आवश्यकताका आधारमा यो तालिम सञ्चालन गरेको हो।” भण्डारीले तालिममा सहभागी प्रदेशका सबै जिल्ला र पोखरामा रहेर काम गर्ने ब्युरो प्रमुखहरूलाई आगामी दिनमा ‘फोकल पर्सन’ का रूपमा रोस्टरमा राख्ने जानकारी दिँदै प्रविधिसँग सम्बन्धित यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको प्रष्ट पारिन। उनको यो दूरदर्शी योजनाले मोफसलको पत्रकारितालाई प्राविधिक रूपमा सबल बनाउन प्रेस रजिष्ट्रारको कार्यालयले खेलेको अभिभावकीय भूमिकालाई थप उज्यालो पारेको छ।

तालिमकी स्रोत व्यक्ति चेतना कुँवरले सहभागी प्रशिक्षार्थीहरूको सिक्न चाहने लगाव, जिज्ञासा, रुचि र धैर्यता देखेर आफू अत्यन्तै उत्साहित भएको बताइन। “सामान्यतया १४ जना मात्र सहभागीलाई क्लास रुममा राख्ने प्रावधान भए पनि प्रदेश स्तरको तालिम भएकाले १८ जना सहभागी हुँदा समेत ६ दिनसम्म मलाई कुनै सास्ती र सङ्कट महसुस भएन,” कुँवरले भनिन।उनले आगामी दिनमा पनि प्रेस रजिष्ट्रारको कार्यालयसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै सहभागीहरूलाई निरन्तर अभ्यास र कोसिस गर्न सुझाव दिइन।
कुँवरका अनुसार, यो ६ दिनको भौतिक प्रशिक्षणपश्चात् ६ हप्तासम्म अनलाइन मेन्टरिङ र प्रयोगात्मक कार्य हुनेछ भने आगामी मे १० देखि १५ सम्म फेरि ६ दिन भौतिक रूपमै प्रशिक्षण दिई, कडा मूल्याङ्कन गरेर मात्र सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी कोषाध्यक्ष मिला दराई, रातोपाटी डटकमका ब्युरो प्रमुख प्रकाश ढकाल र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले डेटा ड्रिभन जर्नालिज्म कोर्सले आफूहरूको पेसागत क्षमतामा निखार ल्याएको बताए । उनीहरूले तालिममा सिकेको सीप, ज्ञान र सिकाइका उपलब्धिलाई आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा ‘क्रियात्मक अभियान’ कै रूपमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे।
विभिन्न उमेर समूह २५ देखि ५४ वर्ष र समावेशी महिला, दलित, मुस्लिम, जनजाति, मनाङ मुस्ताङदेखि नबलपुरसम्मको प्रतिनिधित्व रहेको यस तालिमले पत्रकारितामा उमेरले होइन, नयाँ कुरा सिक्ने हुटहुटीले काम गर्छ भन्ने प्रमाणित गरेको छ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन प्रेस रजिष्ट्रारको कार्यालयका लेखा प्रमुख सूर्यप्रसाद पौडेलले गरेका थिए। पोखराबाट सुरु भएको यो डेटा जर्नालिज्मको यात्राले गण्डकी प्रदेशको पत्रकारितालाई अङ्कदेखि अर्थसम्म र तथ्याङ्कदेखि सुशासनसम्म जोड्न महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने सरोकारवालाहरूको विश्वास छ।