सुचना, समाचार र मनोरन्जन

ओली पक्राउ परेपछि एमाले सडकमा : सडकमै टायर बालेर यातायात अवरुद्ध

काठमाडौँ,

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।

एमाले सम्बद्ध २३ वटा जनवर्गीय सङ्गठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन थालेका छन्। प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच केही बेर ठेलमठेल हुनुका साथै स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारे पनि उनीहरू समूह बनाएर अघि बढिरहेका छन्।

माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जुलुस बबरमहल पुगेपछि कार्यकर्ताहरूले सडकमै टायर बालेर यातायात अवरुद्ध पारेका छन्। सरकारविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले आफ्ना अध्यक्षलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। अहिले बबरमहल र माइतीघर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Leave A Reply

Your email address will not be published.