सरु घिमिरे / परिचय
नेपाली राजनीतिको आकाशमा अचेल एउटा नयाँ र विद्रोही रङ्ग पोतिएको छ । त्यो रङ्ग न त परम्परागत रातो हो, न त पुरानो लोकतान्त्रिक सेतो नै । यो एउटा यस्तो रङ्ग हो, जसमा विद्रोहको अटेरी राप छ र प्राज्ञिक चिन्तनको शीलत गहिराइ पनि । पोखराको सडक, चियापसल र साहित्यिक मञ्चहरूमा एउटा पात्र सधैँ चर्चामा रहन्थ्यो गनेस पौडेल । तर, आज त्यो पात्र केवल पोखराको मझेरी पाटनमा सीमित छैन, उसले सिंहदरबारको एउटा महत्त्वपूर्ण मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको बागडोर सम्हाल्न पुगेको छ ।
कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न लिएर सानदार विजय हासिल गरेका गनेस पौडेल, आजको पुस्ताका लागि एउटा आइकन र परम्परागत राजनीतिको जडताका लागि एउटा चुनौती बनेर उदाएका छन् । प्रधानमन्त्री बालेन शाहका घनिष्ठ दोस्ती र वैचारिक सहयात्री गनेसको यो यात्रा अक्षरको खेतीदेखि सत्ताको सिंहासनसम्मको एउटा स्वैरकाल्पनिक जस्तो लाग्ने यथार्थ कथा हो ।

जग र जरा: खड्कराजदेखि गनेससम्मको दार्शनिक यात्रा
सरकारी कागजातमा उनको नाम खड्कराज पौडेल लेखिएको छ । तर, उनले आफूलाई गनेस भनेर परिचित गराए । यो केवल नामको फेरबदल थिएन, यो त एउटा गहिरो आत्मबोध र दार्शनिक विद्रोह थियो । उनले आफ्नो नामको व्युत्पत्ति गर्दै भन्ने गर्थे, गनेस भनेको कसैले गनोस्, कसैले मूल्याङ्कन गरोस् भन्ने अर्थमा गरिएको नामको भञ्जीकरण हो । वास्तवमै, आज समयले उनलाई गन्न थालेको छ ।
वि.सं. २०३६ सालमा पोखराको मझेरीपाटनमा जन्मिएका गनेस सानैदेखि मेधावी थिए । विज्ञानका विद्यार्थी, जो सधैँ टपर हुने लतमा थिए, उनले पछि व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) र अङ्ग्रेजी साहित्यमा स्नातक गरे । उनको यो प्राज्ञिक जगले नै उनलाई एक कुशल प्राध्यापक, लेखक र चिन्तकको रूपमा स्थापित गर्यो । उनी भन्थे, ‘पढ्नु भनेको केवल सूचनाको सङ्ग्रह होइन, यो त विवेकको निर्माण हो ।’
पठन संस्कृतिको विकासका लागि उनले चालेको रिड एण्ड फिडको स्लोगन र र्याण्डम रिडर्स सोसाइटी अफ नेपालको स्थापनाले पोखरालाई एउटा नयाँ वौद्धिक पहिचान दियो । उनले स्थापना गरेको मझेरी पुस्तकालय आज पनि हजारौँको चेतनाको उज्यालो बनेर उभिएको छ ।

अक्षरको सारथि र पैतालाको स्वैरकाल्पना
गनेस पौडेललाई चिन्नेहरू उनलाई पैताला उपन्यासका लेखकका रूपमा बढी सम्मान गर्छन् । नेपाली आख्यानमा एउटा नयाँ र स्वैरकाल्पनिक प्रयोग भित्र्याएका गनेस केवल लेखक मात्र होइनन्, उनी विश्व साहित्यलाई नेपालीमा अनुवाद गर्ने सेतु पनि हुन् । जोन स्टाइनबेकको अफ माइस एण्ड मेनलाई उनले मुसा मानुष बनाएर नेपाली पाठकका हातमा थमाए ।
शपथ ग्रहणको क्षणमा उनी आफ्नो लेखकीय व्यक्तित्वलाई सम्झँदै भावुक बनेका थिए । उनले भनेका थिए, मलाई यस्तै अनुभूति जीवनमा दोस्रोपटक भएको हो । पहिलोपटक तब, जब मेरो पहिलो पुस्तक पैताला प्रकाशित भएको थियो । त्यो पुस्तक हातमा लिँदा मलाई लागेको थियो, म अब एक्लो लेखक रहेनछु, म इतिहासका ज्ञात र अज्ञात लेखकहरूको लामो पङ्क्तिमा चुपचाप उभिएको छु । आज राजनीतिमा पनि उनी आफूलाई त्यस्तै एउटा अधुरो वाक्य पूरा गर्ने शब्दका रूपमा देख्छन् ।
अटेरी विद्रोह र लौरोको राजनीतिक सन्देश
२०७९ को स्थानीय निर्वाचनमा पोखराको सडकमा एउटा अनौठो नारा गुञ्जियो ‘राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौँ ।’ गनेस पौडेलले अटेरी अभियानमार्फत परम्परागत दलहरूको सिन्डिकेटलाई चुनौती दिए । काठमाडौँमा बालेन शाहले लौरो लिएर चुनाव लड्दा पोखरामा गनेसले पनि लौरो नै चुनाव चिह्न रोजेका थिए । बालेन र गनेसबीचको यो सहकार्य केवल चुनाव चिह्नमा मात्र सीमित थिएन, यो त नयाँ पुस्ताको विद्रोहको साझा रङ थियो ।
स्थानीय निर्वाचनमा हार व्यहोरे पनि उनले पोखरेलीको मन जिते । ३ हजारभन्दा बढी मत पाउनु केवल अङ्क थिएन, त्यो त एउटा ठूलो राजनीतिक विद्रोहको बीउ थियो । त्यही बीउ आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुँदै मन्त्रीको कुर्सीसम्म आइपुगेको छ । उनी सधैँ भन्छन्, ‘म बदलिनका लागि होइन, बदल्नका लागि आएको हुँ ।’

इतिहासको निरन्तरतामा शपथ: जिम्मेवारीको अनुभूति
सिंहदरबारमा शपथ खाँदा गनेस पौडेलको चेतना वर्तमानमा मात्र सीमित थिएन । उनी इतिहासका ती महान् पात्रहरूको सम्झनामा डुबेका थिए, जसले नेपालको लोकतन्त्रका लागि आफ्नो जीवन आहुति दिए । उनले शपथ ग्रहणका क्रममा भनेका थिए, ‘यो त्यही संसद् हो, जहाँ कुनै बेला बिपी कोइराला उभिनुभएको थियो, जहाँ कृष्णप्रसाद भट्टराईले लोकतन्त्रको नाजुक सङ्क्रमणकाललाई संयमतापूर्वक सम्हाल्नुभएको थियो, जहाँ विचारको गहिराइ बोकेर प्रदीप गिरी बोल्नुहुन्थ्यो, जहाँ मदन भण्डारीका पदचापहरू गुञ्जिएका थिए ।’
विशेष गरी आफ्नो क्षेत्र कास्कीका स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झँदा उनी अझ बढी जिम्मेवार महसुस गर्छन् । रवीन्द्र अधिकारीले जुन मन्त्रालयको नेतृत्व गरेका थिए, आज गनेस त्यही स्थानमा छन् । उनी भन्छन्, ‘म इतिहासको विशाल पुस्तकमा म आफ्नो नाम लेख्न आएको होइन, बरु जिम्मेवारीको एउटा अधुरो वाक्य पूरा गर्न आएको हुँ ।’
विमानस्थलको विद्रोहीदेखि सञ्चालकको भूमिकासम्म
यो लेखनको सबैभन्दा पेचिलो पाटो यही हो गनेस पौडेल तिनै व्यक्ति हुन्, जसले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भएको अनियमितता र भ्रष्टाचारका विरुद्ध अटेरी अभियान र सङ्घर्ष समितिको नेतृत्व गरेका थिए । १२ अर्बभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदनले समेत पुष्टि गरिरहँदा गनेसले सडकमा चर्को आवाज उठाएका थिए ।
विमानस्थल रोक्न अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने र सामूहिक गिरफ्तारी दिने योजना बुनेका गनेस आज त्यही विमानस्थल सञ्चालन र नागरिक उड्डयन क्षेत्रको विकृति सुधार्ने ठाउँमा आइपुगेका छन् । यो उनका लागि एउटा ठूलो नैतिक र राजनीतिक परीक्षा हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी जस्ता पात्रहरू थुनामा रहँदा र भ्रष्टाचारले मन्त्रालय थला परेको बेला गनेसले कसरी सुधारको सर्जरी गर्लान् ? यो प्रश्नको उत्तर आम नागरिकले खोजिरहेका छन् । उनले पर्यटन मन्त्रीका रूपमा १०० बुँदाको कार्यसूची तयार पार्नुलाई एउटा सकारात्मक सुरुआत मान्न सकिन्छ । तर, पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसँग जोड्ने र नेपाल वायुसेवा निगमको साख फर्काउने काम फलामको च्युरा चपाउनु सरह छ ।

मान्छे नै रहन चाहने मन्त्री: गपौको प्रात:कल्प
सत्तामा पुगेपछि मान्छेको रङ्ग फेरिन्छ, अनुहारमा औपचारिक मुस्कान आउँछ र चियापसलका पुराना साथीहरू अपोइन्टमेन्ट विना भेट्न नसकिने बन्छन् । तर, गनेस पौडेलले सार्वजनिक रूपमै एउटा सङ्कल्प गरेका छन् ‘म जस्तो थिएँ, त्यस्तै रहनेछु । मलाई नेता होइन, मान्छे नै रहन दिनु ।’
उनले आफ्नो घोषणामा भनेका छन्, ‘म उही चिया पसल या मधुशालामा भेटिनेछु, उही बाटोमा मर्निङ वाक हिँड्नेछु, उही साथीसँग हाँस्नेछु । उही विचारले बोल्नेछु । अटेरी थिएँ र रहनेछु । बिन्दास अनि जोगियाना बाँच्थेँ र बाँच्नेछु ।’ राजनीतिको कालो सिसाभित्र कैद हुनुभन्दा नागरिकसँग नजिकिनु नै उनको पहिलो प्राथमिकता हुने उनले स्पष्ट पारेका छन् । यो उनी जत्तिको स्वैरकाल्पनिक लेखक र विद्रोही अभियन्ताबाट मात्र सम्भव हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम र मानवीय संवेदना
गनेस पौडेल केवल पर्यटन र जहाजको कुरामा मात्र सीमित छैनन् । शपथकै क्रममा उनले जीसीसी देशहरूमा रहेका लाखौँ नेपाली श्रमिकहरूको सुरक्षा र भविष्यप्रति देखाएको चिन्ताले उनलाई एउटा राजनेताको छवि दिन खोजेको छ । साउदी अरेबिया, कतार, युएई जस्ता देशमा पसिना बगाइरहेका नेपालीहरू संकटमा पर्दा सरकारले तत्काल उद्धार र कूटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
उनले श्रमिकहरूलाई अर्थतन्त्रका आधारस्तम्भ र हजारौँ परिवारका आशाका रूपमा चित्रण गरेका छन् । एउटा मन्त्रीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर निस्केर राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय मुद्दामा देखाएको यो सक्रियताले नयाँ पुस्ताको राजनीतिमा कति परिपक्वता छ भन्ने देखाउँछ ।
मिस गर्नुको दर्शन: दार्शनिक गनेसको एउटा पाटो
गनेस पौडेलभित्र एउटा दार्शनिक पनि लुकेको छ । उनले कसैलाई मिस गर्नुलाई केवल भावनात्मक कुरा मात्र ठानेनन्, यसलाई आत्म-चेतना र अहङ्कारको मिश्रणको रूपमा विश्लेषण गरे । उनले लेखेका छन्, ‘कसैलाई मिस गर्नु भनेको वास्तवमा अर्कोलाई होइन, आफूभित्र बनेको उसको उपस्थितिलाई खोज्नु हो ।’
यो चिन्तनले उनलाई अन्य राजनीतिज्ञभन्दा फरक र बौद्धिक बनाउँछ । उनी बुद्धको दर्शनलाई उधृत गर्दै भन्छन्, ‘जहाँ आसक्ति छ, त्यहाँ दुःख अवश्यम्भावी छ ।’ सायद, राजनीतिप्रतिको आसक्तिभन्दा बढी जिम्मेवारीप्रतिको कर्तव्यले उनलाई यो पदमा पुर्याएको हो । उनले भनेको ‘आइ मिस माइसेल्फ’ भन्ने वाक्यले सत्ताको भिडमा कतै आफ्नो मौलिकता नहराओस् भन्ने चिन्ता पनि व्यक्त गर्दछ ।
अग्निपरीक्षाको सङ्घारमा: अबको बाटो
पोखराले रवीन्द्र अधिकारीपछि पाएको अर्को शक्तिशाली पर्यटन मन्त्री हुन् गनेस पौडेल । तर, यो पद जति शक्तिशाली छ, त्यति नै चुनौतीपूर्ण पनि । उनले सडकमा रहँदा उठाएका भ्रष्टाचारका मुद्दाहरूलाई अब सिंहदरबारको कुर्सीमा बसेर कसरी सम्बोधन गर्छन् ? के उनी प्रदीप अधिकारी जस्ता शक्तिशाली पात्रहरूलाई कानुनी कठघरामा उभ्याउन सफल होलान् ? के पोखरा विमानस्थललाई साँच्चिकै अन्तर्राष्ट्रिय स्तरको बनाउन सक्लान् ?
उनका मतदाता र प्रशंसकहरूले एउटा कुरामा विश्वास गरेका छन् गनेस पौडेल बिक्ने मान्छे होइनन् । उनको अटेरी स्वभावले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्नेछ । उनले भनेका छन्, ‘विचारले जितौँ, चरित्रले टिकौँ ।’
मन्त्रालयको विरासत र दायित्वको भार
वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापनादेखि सुरु भएको यो मन्त्रालयको यात्रा २०३४ सालमा छुट्टै मन्त्रालयका रूपमा स्थापित भएको हो । २०३९ सालमा हवाई विभाग गाभिएर बनेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले संस्कृति, ललितकला, पुरातत्त्व र नागरिक उड्डयन जस्ता गहन जिम्मेवारी बोकेको छ ।
नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार यो मन्त्रालयले क्यासिनो सञ्चालनदेखि पर्वतारोहणसम्म, पशुपति र लुम्बिनी जस्ता विश्व सम्पदाको संरक्षणदेखि हवाई सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउनेसम्मका झण्डै २९ वटा मुख्य कार्यक्षेत्र ओगटेको छ । यी कार्यक्षेत्रहरू केवल सरकारी विवरण मात्र होइनन्, नेपालको आर्थिक विकासका तुलनात्मक लाभका क्षेत्रहरू हुन् ।
नागरिक उड्डयन: विजोग र विकल्पको खोजी
नेपालको नागरिक उड्डयन क्षेत्र अहिले इतिहासकै कमजोर मोडमा छ । युरोपेली युनियनको ब्ल्याकलिस्टबाट नेपाली आकाशलाई मुक्त गराउनु नयाँ मन्त्रीको सबैभन्दा ठूलो चुनौती हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामक र सेवा प्रदायक भूमिका छुट्ट्याउने विषयमा वर्षौँदेखि चलिरहेको बहसलाई टुङ्गोमा पुर्याउन गनेसको अटेरी साहस आवश्यक देखिन्छ ।
भैरहवा र पोखरा जस्ता ठूला लगानीका विमानस्थलहरूलाई व्यावसायिक रूपमा सञ्चालन गरी नेपाल वायुसेवा निगमको गिर्दो साख जोगाउनु चानचुने कुरा होइन । हवाई सुरक्षालाई स्तरीय र भरपर्दो बनाउन उनले कर्मचारीतन्त्रको जडता र राजनीतिक मोलाहिजालाई कत्तिको चिर्न सक्छन्, त्यसैमा उनको सफलता निर्भर रहनेछ ।
संस्कृति र पर्यटन: अमूर्त सम्पदाको अर्थशास्त्र
नेपाल केवल हिमाल र तालको देश मात्र होइन, यो हजारौँ वर्ष पुरानो संस्कृति र सभ्यताको केन्द्र पनि हो । मन्त्री पौडेलको काँधमा पशुपति क्षेत्र, लुम्बिनी र जनकपुर जस्ता धार्मिक सांस्कृतिक धरोहरहरूको संरक्षण गर्ने जिम्मा छ । तर, यहाँ केवल संरक्षण मात्र पर्याप्त छैन । संस्कृतिलाई पर्यटनको मुख्य उत्पादनका रूपमा विकास गरी ग्रामीण तहसम्म त्यसको लाभ पुर्याउनु आवश्यक छ ।
पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा विकास गर्ने गुरुयोजना उनले कसरी ल्याउँछन् ? विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले कसरी छलाङ मार्न सक्छ ? साहसिक पर्यटन, धार्मिक पर्यटन र इको टुरिजमलाई एकीकृत गर्दै टुरिज्म फर अल सिजनको अवधारणालाई उनले व्यवहारमा उतार्न जरुरी छ ।
जनभावनाको कसीमा युवा मन्त्री
पोखराको मझेरीपाटनको माटोमा खेलिएका गनेस पौडेलका लागि स्थानीय सरोकार र राष्ट्रिय जिम्मेवारीबीच सन्तुलन मिलाउनु पर्ने दायित्व छ । उनले जित्नका लागि केवल मत पाएका होइनन्, बेथिति सुधार्ने एउटा म्यान्डेट पाएका हुन् ।
उनले तत्काल चाल्नुपर्ने कदमहरू
भ्रष्टाचारमा शून्य सहनशीलता देखाउनु सक्नु पर्छ । पोखरा विमानस्थल लगायतका आयोजनामा भएका भनिएका भ्रष्टाचारको निष्पक्ष छानबिन गरी जनतालाई परिणाम देखाउने ।नेपालको नाजुक हवाई सुरक्षामा सुधार गर्नुपर्छ । ईयूको कालोसूची हटाउन कूटनीतिक र प्राविधिक पहललाई तीव्रता दिने र उड्डयन प्राधिकरणको संरचनागत सुधार गर्नुपर्छ ।विमानस्थल सञ्चालनमा ल्याउन ध्यान दिनुपर्छ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न छिमेकी मुलुक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँग प्रभावकारी संवाद गर्नुपर्छ ।
सम्पदा संरक्षण गर्नुपर्छ ।विश्व सम्पदा सूचीमा रहेका स्थलहरूको मौलिकता जोगाउँदै तिनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनु पर्छ ।
पर्यटन विविधीकरण गर्नुपर्छ ।काठमाडौँ र पोखरा बाहिर पनि पर्यटनको प्रतिफल पुग्ने गरी सातै प्रदेशमा नयाँ गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्छ ।

अटेरीबाट ‘उत्प्रेरकसम्म
गनेस पौडेल एउटा यस्तो युवा सपनाको नाम हो, जसले राजनीतिमा अकर्मण्यता स्वीकार्य हुँदैन भन्ने सन्देश दिँदै आएको छ । हिजो प्रश्न सोध्ने ठाउँमा रहेका उनी आज उत्तर दिने र निर्णय गर्ने ठाउँमा छन् । पर्यटन मन्त्रालय केवल घुमफिर र उद्घाटनको मन्त्रालय होइन, यो त नेपाललाई समृद्धिको उचाइमा पुर्याउने इन्जिन हो ।
नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई सुरक्षित, स्तरीय र भरपर्दो बनाउने यात्रामा गनेसका पैतालाहरू कत्तिको दह्रोसँग अडिनेछन् ? १२ अर्बको भ्रष्टाचारको भारी बोकेको विमानस्थल र अस्तव्यस्त नागरिक उड्डयनको विजोगलाई उनले कसरी पार लगाउलान् ? आगामी दिनमा उनले चाल्ने प्रत्येक कदमले नेपाली राजनीतिको नयाँ पुस्ताको क्षमता र इमानदारीको मापन गर्नेछ ।
नयाँ पुस्ताको आँखामा सपना छ, हातमा जोश छ । गनेस पौडेलले यो जोशलाई यदि विवेक र पारदर्शितासँग जोड्न सके भने, ३६ वर्षको यो युवा नेतृत्व नेपालको पर्यटन इतिहासमा एउटा स्वर्णिम अध्यायको लेखक बन्न सक्छ । गनेस पौडेले सडकको विद्रोही स्वरले अब सिंहदरबारको नीतिमा अटेरी साहस भर्न सकोस् !
पैतालाले कोर्नुपर्ने नयाँ गोरेटो
गनेस पौडेल एउटा यस्तो प्रयोग हुन्, जसले नेपाली राजनीतिमा बौद्धिकता र विद्रोहको सङ्गम गराएको छ । १५ वर्ष शिक्षण गरेका, स्कुल चलाएका र साहित्यको मेलो समातेका गनेसका लागि अबको मन्त्रालयको कार्यभार केवल प्रशासनिक काम मात्र होइन, यो त एउटा राष्ट्रिय चरित्र निर्माण गर्ने अवसर हो ।
पोखराको मझेरीपाटनदेखि काठमाडौँको सिंहदरबारसम्मको उनको यो यात्राले नयाँ पुस्ताका लागि एउटा सन्देश दिएको छ यदि तपाईँसँग विचार छ, स्पष्टता छ र बेथितिलाई अटेर गर्ने हिम्मत छ भने तपाईँका लागि संसद् र सरकारको ढोका सधैँ खुला छ ।
उनको उपन्यास पैतालामा पात्रहरू हिँडिरहन्छन्, तर गन्तव्य कता हो भन्नेमा एउटा स्वैरकल्पना हुन्छ । तर, आज गनेस पौडेलका वास्तविक पैतालाहरू एउटा स्पष्ट गन्तव्यतिर अघि बढ्नुपर्नेछ त्यो गन्तव्य हो, भ्रष्टाचारमुक्त उड्डयन क्षेत्र र संसारले ईर्ष्या गर्ने पर्यटकीय नेपाल ।
उनले शपथ ग्रहणका क्रममा महसुस गरेझैँ, उनी इतिहासको एउटा निरन्तरता हुन् । उनले आफ्नो कार्यकालतामा कोर्ने हरेक शब्द र चाल्ने हरेक पाइलाले आगामी पुस्ताको भविष्य निर्धारण गर्नेछ । गनेस पौडेल, मन्त्री मात्र नरहनुहोस्, एउटा इतिहासको मानक बन्नुहोस् । तपाईँको यो अटेरी छलाङले नेपाली पर्यटनको आकाशमा नयाँ उज्यालो देओस् ।सभ्य सुसंस्कर्त समाज बनोस् । नागरिकहरूले उन्मुक्त्त उडान भर्ने सपना संपना मन्त्रालयले देओस् । शुभकामना गनेस पौडेल ! तपाईँको पैतालाले सही बाटो भेटोस् ।
