सुचना, समाचार र मनोरन्जन

रेखा थापाको ‘माया भनेकै यस्तो होला’ छायांकन सम्पन्न, ८ वर्षपछि निर्देशनमा कमब्याक

काठमाडौं :

अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार २८ दिनमा फिल्मको सम्पूर्ण सुटिङ सकिएको हो।

फागुन २५ गतेबाट सुरु भएको छायांकन काठमाडौं आसपासका विभिन्न स्थानमा गरिएको थियो। फिल्म संयोजक राजन घिमिरेका अनुसार नियमित छायांकनपछि निर्माण कार्य टुंगिएको हो। ‘माया भनेकै यस्तो होला’मार्फत रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो।

यसपटक उनी अभिनयभन्दा निर्देशनमै केन्द्रित देखिएकी छन्। विशेष कुरा के भने, उनले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर गएर काम गरेकी छन्, जुन नेपाली फिल्म इतिहासमै स्थापित महिला निर्देशकले बाहिरी ब्यानरमा निर्देशन गरेको सम्भवतः पहिलो उदाहरण मानिएको छ।

दिया एण्ड अमु फिल्मस् को ब्यानरमा बनेको यस चलचित्रमा वरिष्ठदेखि चर्चित कलाकारहरूको जम्बो टोली देखिएको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह लगायतको मुख्य भूमिका रहेको छ। विशेष भूमिकामा उषा खड्गी पनि देखिनेछिन्। यस हिसाबले फिल्ममा एकैसाथ चार मिस नेपाल समेटिएका छन्।

त्यसैगरी लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय छ। यसअघि सार्वजनिक पोस्टरमा फिल्मको भावनात्मक र रोमान्टिक पक्ष देखाइएको थियो। एक पोस्टरमा दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई रातो पहिरनमा प्रस्तुत गरिएको थियो भने अर्को पोस्टरमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठबीचको भावुक सम्बन्ध झल्काइएको थियो।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेम कथामार्फत सामाजिक भावना उठान गर्ने जनाइएको छ। पटकथा ध्रुव लम्सालले लेखेका हुन्, जो १० वर्षपछि लेखनमा फर्किएका छन्। फिल्ममा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल र मेकअप प्रिया कार्कीको रहेको छ। निर्माण टिमले चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.