सुचना, समाचार र मनोरन्जन

यस वर्ष २५२ फिल्मले लिए निर्माण इजाजत,कोरोनापछि उद्योगमा उच्च उत्साह

काठमाडौं :

नेपाली फिल्म उद्योग पछिल्लो समय उल्लेख्य रूपमा चलायमान बन्दै गएको देखिएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार २०८२ सालको चैत १८ गतेसम्म २५२ फिल्मले निर्माण इजाजत लिएका छन्। जुन कोरोनापछि सबैभन्दा ठूलो संख्या हो।

कोरोना महामारीका समयमा अर्थात २०७७ मा ७१ फिल्मले इजाजत लिएका थिए। २०७९ सालमा १५३ फिल्मले निर्माण इजाजत लिँदा ‘कबड्डी ः फाइनल म्याच’, ‘छक्का पञ्जा ४’, ‘महापुरुष’, ‘ए मेरो हजुर ४’, ‘झिँगे दाउ’ र ‘२ नम्बरी’ले बक्स अफिसमा छलाङ मारेका थिए। यता फिल्म ‘कबड्डी ः फाइनल म्याच’को कमाई सबैभन्दा धेरै थियो। अर्थात २४ करोड ग्रस कलेक्सन गरेको थियो। अघिल्लो वर्षको तुलनामा ८० मा १४२ फिल्मले मात्र इजाजत लिएका थिए।

साथै २०८२ सालको सुरुवातदेखि नै नेपाली फिल्मप्रति दर्शक आकर्षण कायम देखिएको छ। ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ जस्ता फिल्मले राम्रो कमाइ गरेका छन्। तीमध्ये ‘परान’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ, जसले १८ करोड ग्रस कलेक्सन गर्दै उच्च स्थान सुरक्षित गरेको छ। हालसम्म २०८२ मा ९३ फिल्मले सेन्सर सिफारिससमेत लिएका छन्। यसले नेपाली फिल्मको संख्यामा मात्रै नभई कामको समेत चटारो देखिन्छ। निर्माण इजाजतको बढ्दो संख्या र दर्शकको आकर्षणले नेपाली फिल्म उद्योग पुनः लयमा फर्किएको संकेत देखिएको छ।

Leave A Reply

Your email address will not be published.